भेरीमा बगेका नवराजको प्रहरी बन्ने सपना

पत्रपत्रिकाबाट

शनिबार, १७ जेठ २०७७, ०७ : ४०
भेरीमा बगेका नवराजको प्रहरी बन्ने सपना

फाईल फोटो

जाजरकोट । भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले शनिबार मध्याह्नतिर घरबाट हिँड्दा सपना देखेका थिए– प्रेमिकालाई दुलही बनाएर घरमा ल्याउने र लकडाउन खुलेपछि प्रहरीको जागिर खान जाने । तर उनको त्यो सपना करिब ६ घण्टामै भेरीमा विलीन भयो ।

मल्ल थरकी प्रेमिकालाई लिन भेरी नदी पारि रुकुम पश्चिम चौरजहारी–८ सोती गएका उनीसहित १८ जनामाथि गाउँलेले ढुंगामुढा गर्दै लखेटे । नवराजसहित ५ जनाले ज्यान गुमाए, १ जना बेपत्ता भए । १२ जना मुस्किलले बाँचे । घटनापछि प्रेमिका भनिएकी १७ वर्षीया किशोरीसहित १८ जनालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान थालेको छ । जाहेरीमा किटान गरिएका २ जना फरार छन् ।

प्रहरी बन्ने सपना
२० वर्षीय नवराज मुनिलाल र उर्मिलाका एक्लो छोरा हुन् । उनी नेपाल प्रहरीको जवानका लागि लिखितमा नाम निकालेर मौखिक परीक्षाको तयारीमा थिए । लकडाउनका कारण परीक्षा स्थगित भएपछि उनी घरमै बसिरहेका थिए ।

त्रिभुवन मावि, खलंगाबाट १२ कक्षासम्म पढेका उनी प्रहरीमा जागिर खाएर आमाबुबालाई खुसी बनाउन चाहन्थे । उनी जागिरसँगै बिहे गरेर दुलही भित्र्याउने योजनामा थिए । ‘जागिर खान्छु, बुहारी पनि ल्याउँछु भन्थ्यो,’ आमा उर्मिलाले भनिन्, ‘पापीहरूले मेरो छोरालाई मारेर भेरीमा बगाइदिए, कस्तो सपना देखेको थियो, लास बनेर घर आयो ।’

मुनिलाल र उर्मिला दैनिक मजदुरी गर्छन् । उनीहरूले मजदुरी गरेरै छोरालाई पढाएका थिए । छोरो बाठोटाठो भएकैले कथित माथिल्लो जातकी छोरीलाई ताकेको हुन सक्ने बुबा मुनिलालले बताए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस