भ्रष्टाचारमा संलग्न सेनाका जर्नेल र कर्नेल पक्राउ, दुई उपरथी माथि छानविन

प्रमुख सहायक रथी प्रयोगजंग राणा र महासेनानी नवीन सिलवाल पक्राउ, पूर्वउपरथी सुधीर श्रेष्ठ र बहालवाला जर्नेल अजितबरसिंह थापामाथी प्रारम्भिक छानविन शुरु

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, ०९ : १९
भ्रष्टाचारमा संलग्न सेनाका  जर्नेल र कर्नेल पक्राउ, दुई उपरथी माथि छानविन

काठमाडौं । नेपाली सेनाभित्र पछिल्लो चरण आर्थिक अनियमितता र अराजकता बढेको भन्दै सेना आफैले अनुसन्धान शुरु गरेको छ । भ्रष्टाचारको अभियोगमा केही दिन अगाडी मात्रै सेनाका प्रमुख सहायक रथी प्रयोगजंग राणा र महासेनानी नवीन सिलवाल पक्राउ परेका थिए । सेनाले भ्रष्टाचारमा आफै सैन्य अदालत गठन गरेर अनियमितिता छानविन गर्ने गरेको छ । सोही आधारमा राणा र सिलवाल पक्राउ परेका हुन् ।

उनीहरुलाई अहिले सैनिक हिरासतमै राखेर अनुसन्धान प्रक्रिया जारी रहेकै बेला थप दुई उच्च अधिकारीमाथी पनि भ्रष्टाचारमा छानविन प्रक्रिया शुरु भएको सैनिक मुख्यालय स्रोतले बताएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र बढेको आर्थिक अनियमितता र भ्रष्टाचारको छानविन गर्न दिएको निर्देशन लगत्तै सेनाभित्र आर्थिक अनियमितताको आशंका गरिएको काण्डमा छानविन प्रक्रिया शुरु भएको हो ।

उच्च सैनिक स्रोतका अनुसार, अहिले थप दुई उच्च सैनिक अधिकारी छानविनको दायरामा तानिन लागेका छन् । यसरी तानिन लागेकामा पूर्वउपरथी सुधीर श्रेष्ठ र बहालवाला जर्नेल अजितबरसिंह थापा छन् । उनीहरुमाथी अहिले छानविन प्रक्रिया शुरु गरिसेकको सैनिक उच्च स्रोतले जनाएको छ । पूर्व उपरथी श्रेष्ठलाई सैनिक जहाज खरिदका विभिन्न प्रकरणहरुमा अनियमितताको आशंकामा छानविन शुरु गरिएको जनाईएको छ ।

त्यस्तै बहालवाला जर्नेल थापालाई सुन्दरीजलस्थित सैनिक आर्सनलको प्रमुख भएका बेला अनियमिततामा संग्लन्न भएको आशंकामा छानविन शुरु गरेको हो । दुवैमाथी भ्रष्टाचारको आरोपमा सैनिक मुख्यालयमा परेको उजुरीपछि छानविन शुरु गरिएको सैनिक उच्च स्रोतले जनायो । नेपाली सेनाका कमाण्डर पाइलट पूर्वउपरथी सुधीर श्रेष्ठ नेपाली सेनाको हवाई सेवा महानिर्देशनालयमा रहँदा जहाज खरिदमा भ्रष्टाचार गरेको आरोप लागेको छ । उनीमाथी  इण्डोनेशियाबाट ल्याएको जहाज खरिदका क्रममा अनियमितता गरेको उजुरी सैनिक मुख्यालयमा परेपछि छानविन शुरु गरिएको हो ।

स्रोतका अनुसार, त्यसबेला श्रेष्ठले सम्झौताअनुसार जहाजका पार्टपूर्जाहरु नआएको र त्यत्तिकै करोडौं करोड रकम भुक्तानीका कार्य अघि बढाइएको उजुरी मुख्यालयमा परेको छ । प्रधानसेनापति थापाले सो जहाजको थप भुक्तानी प्रक्रिया पनि रोकिदिएका छन् । उनीमाथि रुसबाट खरिद गरेर ल्याइएको दुईवटा एमआई १७ जहाजका पार्टपूर्जाका बारेमा पनि अनियमितता गरेको हुनसक्ने आशंकामा सँगै छानविन भईरहेको छ ।

यस्तै, पूर्व प्रधान सेनापति धर्मपालबरसिंह थापाका छोरा समेत रहेका अजितवरसिंह थापालाई भने काठमाडौंको सुन्दरीजलस्थित सैनिक आर्सनलको प्रमुख भएका बेला अनियमितता भएको उजुरीका आधारमा प्रारम्भिक छानविन शुरु भएको छ ।
 

प्रतिक्रिया दिनुहोस