नक्कली अश्लील भिडियो सार्वजनिकसंगै फिल्म उद्योग आतंकित

पत्रपत्रिकाबाट

विहीबार, १५ जेठ २०७७, ०८ : १६
नक्कली अश्लील भिडियो सार्वजनिकसंगै फिल्म उद्योग आतंकित

काठमाडौं । केही नेपाली नायिकाहरूको नक्कली अश्लील भिडियो सार्वजनिक भएपछि फिल्म उद्योग नै आतंकित बनेको छ। चर्चित अनुहारलाई विदेशी पोर्न भिडियोको शरीरसँग जोडेर सार्वजनिक गरिएका यस्ता भिडियोका कारण नेपाली कलाकारहरू तनावमा छन्। यो कार्य गर्नेलाई तत्काल कारबाही गर्न माग गर्दै मंगलबार नेपाल चलचित्र कलाकार संघले महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिइएको छ। पीडित एक नायिकाले सोमबार नै महाशाखामा उजरी दिएकी थिइन्।

भारतले नेपालको सीमा मिचेको विषयमा नायिका मनीषा कोइराला र वर्षा राउतले दिएको अभिव्यक्ति चर्चामा रहेकै बेला नेपाली नायिकालाई बदनाम गराउने उद्देश्यले यस्तो भिडियो सार्वजनिक भएको हुन सक्ने कलाकारहरूको ठम्याइँ छ। ‘इनिडयन स्पाइडर स्क्वाड’ को नाममा आएको सूचनामा लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको भएको बताउँदै अश्लील भिडियोमा नेपाली नायिकाको अनुहारमा भिडियो बनाएर सार्वजनिक गरिएको हो।

भिडियोमा नायिकाको मोबाइल ह्याक गरी सार्वजनिक गरेको सूचना पनि दिइएको छ। नेपाल र भारतबीचको सीमा विवादका कारण दुई देशका ह्याकरबीच साइबर आक्रमणको होडबाजी चलिरहेको बेला दुई नेपाली नायिकाको नक्कली पोर्न भिडियो सार्वजनिक भएको हो।

संघका अध्यक्ष रवीन्द्र खड्काले दर्ता गरेको उजुरीमा उल्लेख छ, ‘विगत केही दिनदेखि प्रविधिको चरम दुरुपयोग गर्दै नेपाली चलचित्रसँग सम्बन्धित कलाकारको नक्कली अश्लील भिडियो बनाएर विभिन्न माध्यमबाट सार्वजनिक गर्ने क्रम बढेको छ। कलाकारका बारेमा भ्रम सिर्जना गरी चरित्र हत्या गर्ने दुष्प्रयास भएकाले यथाशीघ्र यसको छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्छौ ।’

उजुरी दर्ता भएपछि महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले आजैबाट कारबाही प्रक्रिया अगाडि बढाउने बताए। थापाले भने, ‘भिडियो अपलोड भएका साइट बन्द गर्ने प्रक्रियामा जान्छौं। कसले किन र कहाँबाट यस्तो काम गरिरहेको छ, यथाशीघ्र पत्ता लगाउने कोसिसमा छौं। यसका लागि साइबरविज्ञको सहयोग पनि लिनेछौं।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस