जुन र जुलाईमा कोरोना संक्रमण बढ्नसक्ने

पत्रपत्रिकाबाट

विहीबार, १५ जेठ २०७७, ०७ : २६
जुन र जुलाईमा कोरोना संक्रमण बढ्नसक्ने

काठमाडौं । नेपाली सेनाले आगामी जुन र जुलाईमा कोरोना संक्रमण बढ्नसक्ने आँकलन गरिएको जनाएको छ । सेनाले बुधबार भिडियो कन्फरेन्समार्फत गरेको पत्रकार सम्मेलनमा सेनाको चिकित्सक टोलीको समेत संलग्नतामा गरिएको एक अध्ययनका आधारमा यस्तो आँकलन गरिएको जानकारी दिएको छ ।

सेनाले कन्ट्र्याक ट्रेसिङ, केस स्टडिज तथा कोरोना प्रभावित विभिन्न मुलुकको तथ्यांक विश्लेषणका आधारमा यस्तो निष्कर्ष निकालेको हो । अध्ययन टोलीले गणितीय पद्धतिबाट उक्त अध्ययन गरेको र त्यो अनुमान पूर्ण रूपमा मिल्छ नै भन्ने नभएको सेनाले जनाएको छ ।  

अध्ययन टोलीले कोरोनाको व्यापक प्रभाव परेका अमेरिका र इटली तथा दुई छिमेकी मुलुक चीन र भारतमा कोरोनाको संक्रमणको अवस्थालाई समेत अध्ययन गरेको थियो । अध्ययन अनुसार अमेरिका तथा इटलीको जस्तै गरी कोरोना संक्रमण फैलिएमा त्यसबाट ठूलो मानवीय क्षति हुने अनुमान गरिएको छ । तर, भारत र चीनमा जस्तै कोरोनाको संक्रमण भएमा मानवीय क्षति कम हुने आँकलन रहेको छ ।  

सेनाले कोरोनाको सम्भावित बढ्दो संक्रमणलाई ध्यानमा राखी तयारी पनि गरिरहेको जनाएको छ । हाल कोरोना रोकथाम तथा नियन्त्रणका लागि दुई हजार दुई सय ९० जना सेनाका स्वास्थ्यकर्मी परिचालित भइरहेको सेनाले जनाएको छ । सेनाले कोरोनाको संक्रमणलाई ध्यानमा राख्दै वीरेन्द्र सैनिक अस्पतालसहित देशभर आइसियू बेड, भेन्टिलेटर तथा क्वारेन्टिन स्थल पनि निर्माण गरिरहेको जनाएको छ ।  नागरिक दैनिकमा खबर छ ।