गणतन्त्र ल्याउन लडेका शक्तिबीचको ऐक्यबद्धता आजको आवश्यकता : अध्यक्ष प्रचण्ड

रासस

विहीबार, १५ जेठ २०७७, ०७ : १३
गणतन्त्र ल्याउन लडेका शक्तिबीचको ऐक्यबद्धता आजको आवश्यकता : अध्यक्ष प्रचण्ड

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भई जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । 

गणतन्त्र दिवस–२०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्री दाहालले गणतन्त्रात्मक शासन व्यवस्थाले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको बताउनुभयो ।

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार होइन अपितु गुणात्मक परिर्वतनको प्रतिनिधित्व गरेको बताउनुभएको छ । 

गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जनआन्दोलनमा आफ्नो प्राणको उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै अध्यक्ष दाहालले बेपत्ता योद्धा र घाइते योद्धाको त्याग र समर्पणप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) को रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिनु हुने सम्पूर्णको उच्च प्रशंसा गर्दै उहाँले यस ऐतिहासिक दिवसका अवसरमा सबैको सुस्वास्थ्य र प्रगतिको कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस