काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि उपयोगी हुने विज्ञले सुझाव दिए पनि औषधालयमा भने जाँच उपकरणसमेत छैन ।
काठमाडौँ महानगरपालिका–८ स्थित जयवागेश्वरीमा रहेको वाग्मती अञ्चल आयुर्वेद औषधालयमा भने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) लगायत सामग्री नहुँदा बिरामीको परीक्षण गराउन समस्या भएको हो । सुरक्षा उपकरण नभएकाले औषधालय आएका बिरामीलाई टाढै राखेर सोधपुछका आधारमा औषधि दिने गरेको कार्यालय प्रमुख आयुर्वेद चिकित्सक डा अञ्जु कार्कीले बताउनुभयो ।
सुरक्षा उपकरण नभएकाले औषधालयमा प्रेसर समेत जाँच गरिँदैन । औषधालय छिर्ने बित्तिकै सोधपुछ कक्षमा कर्मचारीले टाढाबाट थर्मल गनले ज्वरो नापेर मात्र भित्र छिराइन्छ । दाहिने काँध दुखेर औषधालयमा जचाउन जाँदा नछोइकन सोधपुछका आधारमा आयुर्वेद चिकित्सक डा कार्कीले औषधि दिनुभएको गोकर्णेश्वरका मक्षेन्द्रप्रसाद सापकोटाले सुनाउनुभयो ।
आयुर्वेदका धेरै औषधिले रोग प्रतिरोधी क्षमता बढाउने भन्दै कोरोनाबाट बच्न जारी बन्दाबन्दीका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद र प्राकृतिक चिकित्सासम्बन्धी निर्देशिका नै जारी गरेको छ । औषधालयमा भने सुरक्षा उपकरणसमेत नहुँदा बिरामीले सामान्य सेवासमेत पाउन नसक्ने अवस्था बनेको छ । औषधालय वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत छ ।
अञ्चल आयुर्वेद औषधालय भने पनि जिल्ला आयुर्वेद औषधालय भन्दा कम कर्मचारीको दरबन्दी दिँदा काममा अप्ठ्यारो भएको कर्मचारीको गुनासो छ । काठमाडौँमा अञ्चल आयुर्वेद औषधालय भएकाले जिल्ला औषधालय छैन । काठमाडौँका पाँच स्थानीय तहमा समेत आयुर्वेद औषधालय छन् ।
कागेश्वरी मनोहरा नगरपालिकाको भद्रवास, नागार्जुन नगरपालिकाको सीतापाइला, चन्द्रागिरि नगरपालिकाको मातातीर्थ, कीर्तिपुर नगरपालिकाको पाँगा र दक्षिणकाली नगरपालिकाको फर्पिङमा आयुर्वेद औषधालय रहेका छन् । देश सङ्घीय सरचनामा जानु अघि पाँचवटै कार्यालय वाग्मती अञ्चल आयुर्वेद औषधालय थिए । हाल सबै औषधालय सम्बन्धित स्थानीय तह मातहतमै छन् ।
आयुर्वेदका ग्रन्थमा ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् देश अथवा स्थानका मानिस हुन् तिनलाई त्यहीँ पाइने जडिबुटीले औषधिको काम गर्छ भन्ने सन्देश बोके पनि सम्बन्धित निकायले यसलाई बिर्सेको यस क्षेत्रका विज्ञको गुनासो छ ।
जसका कारण कौडीको भाउमा जडीबुटी विदेशिने र औषधिका गोली बनी हजारौँको मूल्य लिएर भित्रिने गरेको आयुर्वेदको उपचारमा सक्रिय वैद्य दीपक सुवेदी बताउनुहुन्छ । यहीँका जडीबुटीको उपयोग गर्नसके बाहिरबाट भित्रने औषधिले भन्दा बढी रोग प्रतिरोधी काम गर्ने उहाँको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ जेठ २०७७, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै