सबैभन्दा बढी वन क्षेत्र कर्णाली प्रदेशमा

रासस

मंगलबार, १३ जेठ २०७७, २० : ५०
सबैभन्दा बढी वन क्षेत्र कर्णाली प्रदेशमा

फाईल फोटो

काठमाडौं । मुलुकको कूल वन क्षेत्रको सबैभन्दा बढी वन क्षेत्र कर्णाली प्रदेशमा छ भने सबैभन्दा कम प्रदेश नं २ मा रहेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण २०७६÷७७ अनुसार नेपालको कूल वन क्षेत्रको हिस्सा (प्रतिशत) मध्ये कर्णाली प्रदेशमा १७ दशमलव ९० र प्रदेश नं २ मा तीन दशमलव ९९ प्रतिशत रहेको छ । 

यसैगरी कूल वन क्षेत्रमध्ये प्रदेश नं १ मा १७ दशमलव १६, वाग्मती प्रदेशमा १६ दशमलव ५०, गण्डकी प्रदेशमा १२ दशमलव  ३६, प्रदेश नं ५ मा १४ दशमलव ७४ र सुदूरपश्चिम प्रदेशमा १७ दशमलव ३४ प्रतिशत वन क्षेत्र रहेको छ ।

मुलुकभर प्रदेश नं २ मा ८४, प्रदेश नं १ मा १३ र प्रदेश नं ५ मा नौ गरी १०६ तहमा वन क्षेत्र नरहेको स्थिति छ । नेपालको कूल भूभागको ४० दशमलव चार प्रतिशत वन र चार दशमलव चार प्रतिशत झाडी तथा बुट्यान क्षेत्र गरी कूल क्षेत्रफलको ४४ दशमलव सात प्रतिशत वन क्षेत्रले ओगटेको छ । नेपालको भूधरातलीय आधारमा सबैभन्दा बढी वन क्षेत्र मध्यपहाडमा छ भने सबैभन्दा कम वन क्षेत्र तराईमा छ ।

आर्थिक वर्ष २०७६÷७७ को फागुनसम्ममा २२ हजार ४१५ सामुदायिक वन उपभोक्ता समूहमार्फत २२ हजार ७२ लाख ३५६ हेक्टर वन क्षेत्रको व्यवस्थापन भई २९ लाख २७ हजार ३२९ घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । जैविक विविधता एवं पारिस्थितिकीय प्रणालीको संरक्षण र प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष र छ संरक्षण क्षेत्रसमेत गरी २० संरक्षित क्षेत्र स्थापना गरी मुलुकको ३४ हजार ४२० वर्ग किमी अर्थात् २३ दशमलव चार प्रतिशत भूभाग संरक्षित क्षेत्र प्रणालीअन्तर्गत व्यवस्थापन गरिएको छ ।

यस आवमा ६०० हेक्टर अतिक्रमण हटाई वनको पुनस्र्थापना
 पछिल्लो वन्यजन्तु गणनाअनुसार नेपालमा हाल २३५ बाघ, ४४१ अर्ना, ६४५ गैँडा, ३२६ कृष्णसार र १९८ घडियाल (गोही) रहेका छन् । त्यसैगरी ४७८ गौरीगाई, ३५० देखि ४०० हिउँ चितुवा र दुई हजार ३२५ बाह्रसिंहा रहेको सर्वेक्षणमा जनाइएको छ । आव २०७५÷७६ मा दुई हजार ४४ हेक्टर अतिक्रमण हटाई वनको पुनस्र्थापना गरिएको थियो । साथै सोही आर्थिक वर्षमा कूल दुई करोड पाँच लाख बिरुवा उत्पादन÷खरिद तथा वितरण गरी चार हजार २०० हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको थियो । 

त्यस्तै आव २०७६÷७७ को फागुनसम्म ६०० हेक्टर अतिक्रमण हटाई वनको पुनस्र्थापना गरिएको छ भने ९८ लाख बिरुवा उत्पादन गरिएको छ । जडीबुटी प्रशोधन तथा उत्पादन कम्पनी लिमिटेडद्वारा आव २०७५÷७६ मा १५ टन सुगन्धित तेल उत्पादन र २२ लाख २४ हजार थान हर्बल केयर उत्पादन भएको थियो भने चालू आवको पहिलो आठ महिनामा ३० टन सुगन्धित तेल उत्पादन र ४८ लाख थान हर्बल केयर उत्पादन भएको छ ।

आव २०७५÷७६ मा निजी र राष्ट्रिय वन गरी कूल एक करोड ९४ लाख घनफिट गोलिया काठ उत्पादन भएको थियो भने चालू आवको फागुनसम्म यस्तो उत्पादन एक करोड दुई लाख ५९ हजार घनफिट रहेको सर्वेक्षणमा उल्लेख छ ।

संरक्षित क्षेत्रमा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक र राजश्व परिचालन विगत दशकमा क्रमशः वृद्धि भएको सरकारले जनाएको छ । आव २०७५÷७६ मा सात लाख छ हजार १११ पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेकामा आव २०७६÷७७ को पहिलो आठ महिनामा पाँच लाख १० हजार २७८ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको आर्थिक सर्वेक्षणमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस