नारायणी अस्पतालमा मृत्यु भइसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, १२ जेठ २०७७, १२ : १५
नारायणी अस्पतालमा मृत्यु भइसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

पर्सा । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले तीन पटकसम्म नेशनल मेडिकल कलेजमा मृत्यु भएका वृद्धको रिपोर्ट शंकास्पद आएको बताएका छन् । उनले चौथो पटकमा मात्र पोजेटिभ देखिएको बताएका छन् । पटक पटक शंकास्पद देखिँदा एकिन गर्न समय लागेको उनको दावी छ ।

उनका अनुसार जेठ ३ गते संकलन भएको स्वाबको परीक्षण नारायणीको ल्याबमा पहिलो पटक ५ गते शंकास्पद देखिएको थियो । त्यसपछि फेरि ६ गते परीक्षण गर्दा पनि शंकास्प नै देखियो । 

त्यसपछि आफूहरुले थप परीक्षणका लागि काठमाडौं पठाएको उनको भनाइ छ । ‘जेठ ७ गते हामीले स्वाब काठमाडौं पठाएका थियौं । त्यहाँ पनि पहिलो परीक्षण शंस्कास्पद देखिएपछि दोहोर्याएर परीक्षण गर्दा मात्रै पोजेटिभ पुष्टि गरिएको जानकारी आएको छ ।’

यसैगरी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि नारायणीमा शंकास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती वृद्धमा कोरोनाभाइरस संक्रमण पुष्टि बताए । 

बारा स्थायी घर भएका उनको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएको थियो । मृत्यु भएकै दिन अस्पतालले लापरबाहीपूर्ण ढंगले परिवारलाई शव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस