इद उल–फित्रमा शुभकामना

नेकपा अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति देउवाको सन्देश : ‘कोरोना महामारी विरुद्धको संघर्षमा एकताबद्ध बनेर प्रतिरोध गरौं’

सोमबार, १२ जेठ २०७७, ०८ : ४५
नेकपा अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति देउवाको सन्देश : ‘कोरोना महामारी विरुद्धको संघर्षमा एकताबद्ध बनेर प्रतिरोध गरौं’

काठमाडौँ । मुस्लिम समुदायको महान चाड इद उल–फित्रको अवसरमा  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै विविधताभित्रको एकता नै हाम्रो मौलिक विशेषता र पहिचान रहेको उल्लेख गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुमकामना व्यक्त गरेका छन् । सन्देशमा भनिएको छ–‘बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गरोस ।’

सबै जातीय, धार्मिक र वर्गीय समुदायमा कोभिड–१९ ले समानरुपले आक्रमण गरिरहेकाले यस महामारीविरुद्धको सङ्घर्षमा एकताबद्ध प्रतिरोधका लागि सबैमा आग्रह गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘इद उल–फित्र चाडका अवसरमा मुस्लिम समुदायमा सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गर्दछु ।’

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल–फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना (इद मुवारक) व्यक्त गरेका छन् ।
कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै भौतिक दूरीलाई कायम राखी पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस