के अब दाँतको रोगको उपचारै हुन्न त ? कोरोनाको जोखिममा यसरी गरौं दाँतको सुरक्षा

प्रकाश सिग्देल

विहीबार, ०८ जेठ २०७७, १८ : २२
के अब दाँतको रोगको उपचारै हुन्न त ? कोरोनाको जोखिममा यसरी गरौं दाँतको सुरक्षा

– प्रकाश सिग्देल
चितवन । कोरोनाको जोखिमका कारण अहिले दाँत सम्बिन्धि समस्या भएका बिरामीहरु निकै ठूलो समस्यामा परेका छन् । दाँतको समस्या मुख भित्रको समस्या भएको र कोरोना भाइरस मुख बाट नै सर्ने भएकाले गर्दा दन्त उपचार अस्पताल र डाक्टरहरुले दाँतको उपचार गर्ने आँट गर्न नसकेपछि विगत २ महिना देखि विरामीहरु घरमै घरेलु प्रकारका उपायहरु अवलम्वन गरी दाँत दुखाइबाट छुट्कारा लिने प्रयास गरेका छन् । 

गैंडाकोट ४ की निकिता रिजालले करिव १ महिना अगाडि देखि बुद्धि बंगारा आउन लागेको र दाँत किराले खाएर हरेक दिन दाँतको दुखाई खपि नसक्नु भएर हैरान पार्ने गरेको बताइन् । दुखाई कम गर्ने औषधी खाएर बस्नु परेको बताउँदै उनले दाँतको उपचार केन्द्रहरु पनि कहीँकतै नखुलेकोले अस्पताल जान नसकी घरमै बसेर घरेलु उपाए अप्नाएर भए पनि केही हदसम्म दुखाई कम गरेको बताइन् । 

दाँतको उपचार गर्दा कोरोना सर्ने उच्च जोखिम हुने भएकाले तत्कालै उपचार नगरि नहुने बाहेकका समस्या भएका बिरामीहरुले डाक्टरसँग फोनबाटै पनि सम्पर्क गरी औषधी सेवन गर्दा राम्रो हुने दन्तरोग चिकित्सक सन्ध्या घिमिरेले बताइन् ।  

यो रोग फैलने मुख्य माध्याम नै नाक मुख भएको र यसको उपचार गर्दा यो  रोग फैलने उच्च जोखिम हुने भएकाले आपत्कालीन अवस्थाका बाहेक अरु समस्यामा अहिले दन्तरोग उपचार केन्द्रमा जान नहुने घिमिरेको भनाइ छ । दाँत भाँच्चिएमा, लगातार दाँतबाट रगत आएमा, दाँतको दुखाइबाट अनुहार सुनिएमा मात्रै उपचार केन्द्रमा जानु पर्ने र नत्र अरु समस्यामा दन्त रोग उपचार केन्द्रमा नगैकन चिकित्सकसँग फोनबाटै परामर्श लिन उनको सुझाव छ । 
किराको समस्याले दाँत खिइएका बिरामीहरुको उपचार गर्दा समय लाग्ने र एक पटक मात्रै गरेर नहुने केही दिनको फरकमा पटकपटक उपचार गर्नुपर्ने भएकाले पनि उपचारकै क्रममा रहेका बिरामीहरुलाई पनि कोरोनाको कारण उपचार पुरा नहुँदा समस्या रहेकोे उनको भनाइ छ ।   

दाँतको रोग सामान्य हेराईकै भरमा औषधी दिन नमिल्ने र किराले खाएका दाँत फाल्नु पर्ने, सिमेन्ट भर्नु पर्ने, नयाँ हाल्नु पर्ने सबै काम प्रत्यक्ष रुपमा मुख भित्रै घण्टौ समय लगाएर गर्नु पर्ने भएकोले रोग सर्ने जोखिम उच्च हुने हुँदा आपतकालीन अवस्था बाहेक अरु समस्यामा डेन्टल अस्पताल तथा दन्त चिकित्सककोमा नजान नेपाल डेन्टल एसोसियशनले पनि आग्रह गरेकाले अहिले सबै उपचार केन्द्रहरुले आपतकालिन बाहेक अन्य उपचार सेवा प्रदान गर्न नसकेको घिमिरेको भनाई छ । 

दाँतको भूमिका खाना चपाउनका लागि मात्र होइन, हामीलाई सुन्दर देखाउन पनि हुन्छ । तर यहि दाँतको ख्याल भने हामीले त्यति गरेको पाईँदैन । नदुखेसम्म वा समस्या नआउँदासम्म दाँतको बारेमा खास ध्यान नदिने बानीले गर्दा पनि अहिले मानिसलाई धेरै समस्या भएको छ । 

दाँतको सुरक्षा कसरी गर्ने ?
दन्त चिकित्सक घिमिरेका अनुसार दैनिक २ पटक नियमित रुपमा फ्लोराईडयुक्त टुथपेस्टले ब्रस गर्नाले दाँतको समस्या समाधान हुन्छ । उनका अनुसार दाँतको समस्याबाट समाधान पाउने प्रमुख उपाए नियमित ब्रस नै हो । दाँतको सुरक्षाका लागि सकेसम्म जङ्कफुड र फास्टफुडको कम प्रयोग गर्न उनको सुझाव छ । 

धेरै तातो, चिसा र अमिलो खानेकुरा एकैपटक नखाने, खाना खाइसकेपछि या गुलियो खानेकुरा खाएपछि ब्रस गर्ने, ब्रस गर्न नमिलेमा मुख राम्रोसँग कुल्ला गर्ने, सूर्तिजन्य पदार्थ सेवन नगर्ने, गुलियो, केमिकलयुक्त र जङ्कफुडको प्रयोगले दाँतमा ब्याक्टेरिया संक्रमण ल्याउने र दाँत दुख्न सक्ने हुनाले खाने कुरा खाँदा विशेष ध्यान दिने, दाँतको सामान्य दुखाईमा नुनपानीले मुख कुल्ला गर्ने, दाँतको समस्या हुनेले साह्रो खानेकुराको प्रयोग कम गर्ने, फ्लोराईडयुक्त टुथपेस्टको प्रयोग गर्ने र ६ महिनाको फरकमा दाँतको जाचँ गराउन उनको सुझाव छ । गिँजा तथा दाँतबाट रगत आउनाले ठूलो समस्या आउन सक्छ । 

दाँतको दुखाई समाधान गर्ने घरेलु विधि 
दाँत दुखाई समाधानको घरेलु उपचार गर्ने धेरै प्रकारका विधिहरु प्रचलनमा रहेका छन् । लसुनको एक पोटी थोरै बिरे नुनसँग पिसेर दुखेको दाँतमा राम्रोसँग थिचेर राख्यो भने दाँतको दुखाई हराउने बताइन्छ । 

दिनहुँ एक केस्रा लसुन राम्ररी चपाएर खाने गर्नाले, किराले खाएर दुखेको भागमा अलिकति हिङ वा ल्वाङ राख्दा, दाँत दुख्दा तातोपानी र नुन बेसारले कुल्ला गर्दा पनि दाँतको दुखाई धेरै हदसम्म कम हुने बताइन्छ । त्यस्तै पुदिनाको पातलाई पिँधेर किरा लागेको दाँतमा राख्नाले दुखाइ धेरै कम हुन्छ भने हिङ र कागती मिलाई पेस्ट बनाइ दाँत ब्रस गर्नाले पनि धेरै फाइदा हुने विशेषज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस