नेपालगञ्ज नाकाबाट भित्रिए एक हजार

रासस

बुधबार, ०७ जेठ २०७७, २० : ५४
नेपालगञ्ज नाकाबाट भित्रिए एक हजार

फाईल फोटो

काठमाडौं । बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट आज एक हजार ३२५ नेपाली भित्रिएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दै आएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार आज भारतबाट नेपाल आएकामा कर्णाली प्रदेशका १० जिल्लाका तथा प्रदेश नं  ५ का बाँके, बर्दिया, दाङ र प्युठानका एक हजार ३२५ जना छन् । सबैभन्दा धैरै दैलेखका ५०१ जना  छन् । जमुनाह नाकाबाट नेपाल भित्रिएका नेपालीलाई आज बसमार्फत नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा ल्याएर लगत लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयेश सापकोटाले जानकारी दिनुभयो । 

उद्धार गरिएका व्यक्तिलाई लिन सम्बन्धित स्थानीय तहसँग गाडी माग गरिएको र  यहाँबाट गएर सबैलाई आआफ्नो पालिकाले निर्माण गरेको क्वारेन्टिनमा अनिवार्य रुपमा बस्नुपर्ने शर्तसहित पठाउन थालिएको उहाँले बताउनुभयो । यसअघि यही जेठ २ गते एकैदिन भारतका विभिन्न क्वारेन्टिन तथा सीमाक्षेत्रमा बसेका ६८७ नेपालीलाई उद्धार गरी गृहजिल्ला पठाइएको थियो । बाँकेमा पछिल्लोपटक भारतबाट आएका नागरिकमा कोरोना सङ्क्रमण बढी देखिएको छ । 

प्रतिक्रिया दिनुहोस