मदनआश्रित स्मृति दिवशमा नेकपाका अध्यक्षद्धयले भने–‘दासढुंगा प्रकरणको गहिरो अन्वेषण गर्छौ’

सफल खबर संवाददाता

शनिबार, ०३ जेठ २०७७, ०९ : ४४
मदनआश्रित स्मृति दिवशमा नेकपाका अध्यक्षद्धयले भने–‘दासढुंगा प्रकरणको गहिरो अन्वेषण गर्छौ’

काठमाडौं । आज जेठ ३ अर्थात २७ औं मदनआश्रित स्मृति दिवश । स्मृति दिवश आज भएपनि कोरोना महामारीका कारण देशभरि कुनै पनि औपचारिक कार्यक्रम  आयोजना गरिएको छैन् । यसैबिच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २७ बर्ष अघि भएको दासढुंगा प्रकरणकोे गहिरो अन्वेषण गर्ने प्रतिबद्धता जनाएका छन् ।

२७ औं मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको दोस्रो बर्षगाठको सन्दर्भ पारेर आज जेठ ३ गते अध्यक्षद्धय ओली र प्रचण्डले संयुक्त वक्तव्य जारी गर्दै पुनः यो प्रतिवद्धता व्यक्त गरेका छन् ।  विज्ञप्तीमा भनिएको छ–‘यी दुई लोकप्रिय नेताको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुखद् निधन भएको आज २७ बर्ष वितेकोे छ ।

उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन । धेरैले यो घटनालाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रुपमा धेरैले लिने गरेका भन्दै हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्दछ ।’

त्यस्तै ओली–प्रचण्डद्धय द्धारा विज्ञप्तीमा अगाडी भनिएको छ–‘ दुवै नेताका  विचार र आदर्शलाई अनवरत अवलम्बन गर्ने दृढ संकल्प समेत गर्दछौं ।’  मदन आश्रित स्मृति दिवसकै ऐतिहासिक सन्दर्भ पारेर २ बर्ष अगाडि २०७५ जेठ ३ गते तत्कालिन एमाले र माओवादीबीच एकीकरण गरेर नेकपा बनेको थियो । जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस