स्वास्थ्यकर्मीलाई जोखिम भत्तामा समानता र विशेष प्याकेजको माग

सूर्यप्रकाश कँडेल

विहीबार, ०१ जेठ २०७७, २१ : ४०
स्वास्थ्यकर्मीलाई जोखिम भत्तामा समानता र विशेष प्याकेजको माग

काठमाडौँ । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्तामा समानता र विशेष प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । महासंघको केन्द्रीय समितिका अध्यक्ष डा. कृष्णसागर पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । 

अध्यक्ष डा. पौडेलद्वारा जारी विज्ञप्तिमा सरकारको ध्यानाकर्षण गराउँदै १३ बुँदे माग उल्लेख छ । कोरोना महामारी नियन्त्रण र रोकथामको लागि चुस्त र दुरुस्त कार्यक्रम तथा नीति ल्याउनु पर्ने भन्दै विज्ञप्तिमा स्वास्थ्य क्षेत्रमा भइरहेको अनियमितता र भ्रष्टाचार रोक्न कडा नीति अवलम्बन गर्नु पर्ने बताइएको छ ।

स्वास्थ्यकर्मीहरुको समायोजन प्रक्रियामा देखिएको समस्या तत्काल समुचित तवरले समाधान गर्नुपर्ने र स्वास्थ्य सेवालाई संघ अन्तर्गत राखी परिचालन गर्न माग गरिएको छ । देशको कूल बजेटको दस प्रतिशतभन्दा बढी स्वास्थ्य क्षेत्रमा ल्याउनु पर्ने महासंघको माग छ । 

विज्ञप्तिमा स्वास्थ्य सेवालाई पारदर्शी बनाउन स्वास्थ्य आयोगको स्थापना गर्नु पर्ने, सर्वसुलभ, गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवाको बिस्तार गर्नु पर्ने, स्वास्थ्य जनशक्तिको तत्काल सर्वेक्षण गरी आवश्यक दक्ष जनशक्ति, स्वास्थ्य संस्थाको आधुनिक भौतिक पूर्वाधार, गुणस्तरीय प्रयोगशालाको व्यवस्था गर्नु पर्ने माग समेत गरिएको छ ।