चितवनमा बिक्न थाल्यो कुखुराको चल्ला

रासस

मंगलबार, ३० बैशाख २०७७, १६ : २४
चितवनमा बिक्न थाल्यो कुखुराको चल्ला

चितवन । कुखुराका चल्ला बिक्न थालेका छन् । लकडाउन केही खुकुलो भएसँगै कृषकले खोरमा कुखुराका चल्ला राख्न थालेका हुन् । पछिल्लो समय दानाको कच्चा पदार्थको मूल्यमा पनि भारी गिरावट आएको छ । यससँगै दाना उद्योगहरुले दानाको मूल्य घटाउन थालेका छन् । जिउँदो कुखुराको मूल्य पनि बढेपछि कृषकले चल्ला राख्ने क्रम बढेको हो ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार गत आइतबार उत्पादन भएका सबै चल्ला बिकेका छन् । सामान्यतया ह्याचरीले आइतबार र बुधबार चल्ला निकाल्ने गर्दछन् । पोखरेलका अनुसार आइतबार रु २५ हाराहारीमा ब्रोइलर, रु ८० मा लेयर्स र रु ५० मा कलर ब्रोइलर चल्ला बिकेका थिए । ब्रोइलर चल्लाको माग बढ्दै गएकाले  यो साताको बुधबार ह्याचरी उद्योगले ब्रोइलर चल्लाको रु ३५ हाराहारी मूल्य पाउने अनुमान व्यवसायीको रहेको छ ।

अहिले सातामा ब्रोइलर चल्ला २५ देखि ३० लाख, लेयर्स एक लाख ३० हजार र कलर ब्रोइलर दुई लाख हाराहारी उत्पादन हुँदै आएको छ । लकडाउनअघि ब्रोइलर चल्ला ३५ लाख उत्पादन हुने गरेको थियो । हाल जिउँदो कुखुराको मूल्य रु २०० देखि २१० मा बिक्री हुन थालेको छ । यो मूल्य लागत मूल्यभन्दा माथिको मूल्य हो । यसलाई कृषकले राम्रो मूल्यको रुपमा लिने गर्दछन् ।  

कुखुरापालक कृषक एवं व्यवसायीहरुको छाता संस्था नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्षसमेत रहनुभएका पोखरेल लकडाउनसँगै दैनिक चल्लामा रु तीन करोड ४५ लाख ७० हजार नोक्सान बेहोर्नुपरेको बताउनुहुन्छ । ४८ दिनसम्म चल्ला पुर्नुपर्दा रु एक अर्ब ६५ करोड ९३ लाख ६० हजार हाराहारी प्रत्यक्ष नोक्सानी भएको उहाँको भनाइ छ । अप्रत्यक्षरूपमा यसको प्रभाव दीर्घकालीनरूपमा पर्ने देखिन्छ ।

देशभरमा ३२४ ह्याचरी उद्योग रहेका छन् । ह्याचरीमा प्यारेन्ट नेपालसँगै थाइल्याण्ड, मलेशिया, फिलीपिन्स, अमेरिका, बेलायत, भारतलगायतका देशबाट ल्याउने गरिन्छ । ब्रोइलर चल्लाको लागत मूल्य रु ५७.४५, कलर ब्रोइलरको रु ४० र लेयर्सको रु ९५ पर्ने पोखरेल बताउनुहुन्छ । नेपालमा कुखुरापालन क्षेत्रमा  एक खर्ब २० अर्ब लगानी भएको व्यवसायी बताउँछन् । जसमध्ये ह्याचरीमा मात्र रु २० अर्बभन्दा बढी लगानी भएको पोखरेलको अनुमान छ । (रासस) 

प्रतिक्रिया दिनुहोस