भीम रावल र शंकर पोखरेलबीच ‘वाक युद्ध’

सामाजिक सन्जालमै एक अर्काविरुद्ध शुरु भयो आरोप-प्रत्यारोप

सफल खबर संवाददाता

सोमबार, २९ बैशाख २०७७, ०९ : ३६
भीम रावल र शंकर पोखरेलबीच ‘वाक युद्ध’

काठमाडौं । नेकपाका सांसद तथा स्थायी समिति सदस्य भीम रावल यतिबेला संसदमा अब्बल प्रतिपक्षी नेता हुन् । सरकारको नेतृत्व नेकपाकै अध्यक्ष प्रधानमन्त्री केपी ओलीले गरिरहेका छन् । तर सत्तारुढ पार्टीकै नेता भीम रावल प्रतिपक्ष काँग्रेस भन्दा बलिया प्रतिपक्षी देखिएका छन् ।

काँग्रेस सांसद मिनेन्द्र रिजालले त्यही भएर पनि होला, हिजो संसदमा बोल्ने क्रममै भनिदिए, –‘यस अगाडी सीमा अतिक्रमणका कुरा उठे, कम्युनिष्ट पार्टीका दुईटा मोर्चा तयार भयो, एउटा मोर्चा गाली गर्ने, अर्काे बचाउ गर्ने । त्यस्तै, एमसिसिमा एउटा मोर्चा एमसीसीको सत्तोसराप गर्ने, अर्काे मोर्चा एमसीसी बोकेर हिड्ने, यसमा पनि सरकार दुईटा मोर्चा खडा गरेर बस्ने हो ? यसमा परराष्ट्रमन्त्री के गर्नुहुन्छ ? के गर्न चाहनुहुन्छ । विपक्षी दलले सहयोग गरेको छ भन्नुभयो यसो भनेर मात्र पुग्दैन । अब गर्ने के हो त्यो भन्नुहोस ?’

नेकपा सांसद रावलले भूमिसुधार मन्त्री पद्मा अर्यालप्रति तिखो प्रहार गरेलगत्तै संसदमा बोल्न उभिएका रिजालको त्यस्तो अभिब्यक्ति थियो । रावलले अहिले सरकारका कमी – कमजोरीमा आफ्नै पार्टी नेतृत्वको सरकार भनेर चुप लागेर बसेका छैनन् । त्यही भएर पनि उनलाई कतिपय नेपालीले रुचाउन थालेका छन भने कतिपय उनले मन्त्री हुन नपाएको रिसको झोक देखाईरहेको आरोप लगाईरहेका छन्  ।

यर्थाथ के हो, त्यो रावलले नै जानुन् । तर उनको आफ्नै पार्टी र सरकारमाथी गर्ने टिप्पणी भने खरो देखिदै आएको छ । उनी अब्बल राष्ट्रवादी देखिदै आएका छन् । प्रधानमन्त्री ओलीले पार्टी र सरकार दुवै सञ्चालन गर्न असफल भएको विषयमा उनले ११ पृष्ठमा २७ बुँदे आरोपपत्र नै तयार पारेर बसेका छन् । पार्टी स्थायी समिति बैठक माग गरेर बसेका उनले स्थायी समितिमा लैजान आरोपपत्र तयार पारेर बसेका हुन् । तर ओलीले स्थायी समिति बैठक नबोलाई दिएकै कारण उनले आफनो आरोपपत्रको पोको खोल्न पाएका त छैनन ।

पार्टी बैठकमा आरोपपत्र खोल्न प्रधानमन्त्रीले नै रोक लगाईदिएपछि उनी संसद देखि सार्वजनिक फोरमहरुमा समेत खुलेर पार्टी र सरकारको नेतृत्वको आलोचनामा उत्रिएका छन् । आइतबार बिहान संसदीय समितिमा पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग खरो सवालजवाफ गरेर फर्केका रावलले संसदमा बोल्ने क्रममा पनि कडा अभिब्यक्ति दिए । पश्चिमको सीमा क्षेत्रमा भारतले नेपाली भूमिमा सडक निर्माण गर्दा समेत सरकार कामनमा तेल हालेर वेखबर बनेको विषयमा उनको कडा टिप्पणी मात्र थिएन, सरकारले लिपुलेक क्षेत्रलाई राजनीतिक नक्सामा समेटेर नक्सा जारी नगरेकोमा पनि आक्रोश थियो । 

उनलाई प्रधानमन्त्री ओलीको सत्ता संकट टार्न प्रदेश ५ को मोर्चा छोडेरै काठमाडौंमा दौडधुप गरेर फर्केका शंकर पोखरेलले सामाजिक सन्जालमा  राष्ट्रियताका विषयमा समेत सरकारलाई रचनात्मक सहयोग नगरेको आरोप लगाएपछि रावलले पनि समाजिक सन्जालवाटै पोखरेललाई कटाक्ष गरेका छन् । सरकारमा रहेका र प्रधानमन्त्रीका निकट ठानिने साथीहरुले आत्मनिरीक्षण गदैं यतातर्फ ध्यान दिनु उचित होला भन्दै रावलले मध्यरात समाजिक सन्जाल ट्वीट्रमा लेखेका छन् । 

‘नेपालको संविधान, नेकपाको सिद्धान्त र नीति विपरितका कामबारे समयमै औल्याउनु सरकारलाई रचनात्मक सहयोग हो । गलत कामको आँखा चिम्लेर समर्थन गर्नु सरकार र पार्टीलाई गल्ती गरिरहन दिएर अन्ततः विनाशतर्फ जान दिनु हो । सबैका अनुभव र ज्ञानलाई साँच्चै नै सदुपयोग गर्ने मनसाय  पार्टी र सरकारको जिम्मेवारी लिएकाहरुमा छ भने राष्ट्रिय महत्व र दीर्घकालिन प्रभाव राख्ने विषयमा पार्टीमा सस्थागत र विधिसम्मत छलफल गरौं । निश्र्कषको आधारमा पार्टी र सरकार चलाऔं । सामुहिक बल, बुद्धि लगाएर देश र जनताको हितमा समर्पित रहने असल परिपाटी कायम गरौं । पार्टी स्थायी कमिटिको बैठक तुरुन्त बोलाइयोस । 

राज्यसत्ताको दुरुपयोग गरी गुटबन्दी गर्ने काम बन्द गरियोस् । अन्यथा आफ्ना गल्ती कमजोरी छा्ेप्न अरुलाई दोष दिने, आफु मनपरी गर्ने र अरुलाई अर्ती उपदेश दिने कुराको कुनै औचित्य रहन्न ।’ उनले पोखरेलमाथी यस्तो कटाक्ष गर्नु पर्नाको कारण उनीमाथी पोखरेलले सामाजिक सन्जालमै गरेको टिप्पणी थियो । संसदीय समिति र संसदमा समेत उनले हिजो बोलेका विषयलाई लिएर पोखरेलले आपसी कटाक्ष र विवाद निकालेको भन्दै आरोप लगाएका थिए ।

पोखरेलले भीम रावललाई प्रष्ट किटान गर्दै लेखेका थिए ,–‘विगतमा गृह, रक्षा र पर्यटन मन्त्रालय  समेतको जिम्मेवारी सम्हाल्नु भएका र सुदुरपश्चिम प्रदेशको इन्चार्ज समेत रहनु भएका कमरेड भीम रावलजीले कालापानी लगायत नेपाल भारत बीचको सीमा समस्या समाधानका लागि विगतका सरकारले गरेका पहल र आफुले हाँसिल गरेका अनुभव समेतका आधारमा सरकारलाई रचनात्मक सहयोग गर्नुभएको खबर सुन्न पाएको भए खुसीको अनुभूति हुनेथियो ।

राष्ट्रियताको विषयमा आरोप प्रत्यारोप भन्दा बलियो एकता । सार्थक पहलको खाचो पर्दछ । संसदका समिति र संसद भित्रको छलफलमा पनि त्यो देखिनु आवश्यक छ । आपसी कटाक्ष र विवादले राष्ट्रको पक्ष नै कमजोर बन्न पुग्छ । सीमा अतिक्रमण जस्तो सम्वेदनशील विषयमा राज्यलाई निर्शत सहयोग गर्नु हामी सबैको कर्तव्य हो ।’ पोखरेलको आरोपलाई अहिले यतिबेला खास जनताले रुचाइएको पाइदैन जति रावलको तर्कलाई रुचाइन्छ । नेकपाभित्रको विवादले अहिले नेताहरु एकै पार्टीमा छन भन्ने पनि छनक दिने अवस्था छैन ।  जुन सार्वजनिक विवादले देखाईरहेका छन् । रावल, पोखरेल द्धन्द्ध पनि यो सतहमा देखिएको एउटा विवादको कडी मात्र हो ।