कोरोना नियन्त्रणमा ट्रम्पको व्यवस्थापन अस्तव्यस्त : पूर्व राष्ट्रपति ओबामा

आइतबार, २८ बैशाख २०७७, ०९ : ३४
कोरोना नियन्त्रणमा ट्रम्पको व्यवस्थापन अस्तव्यस्त : पूर्व राष्ट्रपति ओबामा

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्ना उत्तराधिकारी डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारी नियन्त्रणमा राष्ट्रपति ट्रम्प पर्याप्त व्यवस्थापन गर्न नसकेको भन्दै अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामाले कडा आलोचना गरेका छन् ।

ओबामाले अमेरिकाले हाल महामारी नियन्त्रणका लागि गरेका कामहरु अस्तव्यस्त रुपमा रहेको एक निजी कन्फ्रेन्स कलमा बताएका हुन् ।  ओबामाले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जो बाइडेनको पक्षमा आफूले बिस्तारित भूमिका निर्वाह गर्न चाहेको पनि बताएका छन् । ओबामाले यसअघि नै राष्ट्रपति उम्मेदवारीमा आफ्नो समर्थन बाइडेनलाई रहेको घोषणा गरिसकेका छन् ।

आफ्ना पूर्व कर्मचारी तथा सहयोगीहरुसँगको कन्फ्रेन्स कलको क्रममा ओबामाको पछिल्लो टिप्पणी आएको अमेरिकी सञ्चार संस्था सिएनएनले जनाएको छ । ओबामाले आफ्ना पूर्व कर्मचारीहरुलाई बाइडेनको चुनावी अभियानमा काम गर्न आग्रह गरेका छन् । डोनाल्ड ट्रम्प प्रशासनले अपनाएको रणनीतिका कारण कोरोना भाइरसको महामारी थप भयानक बनेको ओबामाले बताएका हुन् ।

उनले भनेका छन्, ‘सरकारले अति बलियो र राम्रो रणनीतिका साथ काम गरेको भए पनि कोरोना भाइरसको महामारी खराब नै हुने थियो । तर अहिलेको प्रशासनको प्रयास पर्याप्त नहुँदा त्यसलाई थप खराब बनाएको छ ।’ वर्तमान प्रशासनले महामारीमा पनि आफ्नो ‘स्वार्थ’ अनुकुलको मुनाफा खोजेका कारण समस्या विकराल बनेको ओबामाको भनाई उद्धृत गर्दै कन्फ्रेन्स कलमा सहभागीले बताएका छन् । ओबामाले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लीनमाथिको आपराधिक अभियोग खारेज गरिएको घटनाको पनि कडा आलोचना गरेका छन् ।

अमेरिकी न्याय विभागले सन् २०१६ को चुनावमा ट्रम्पलाई फाइदा हुने गरी रुसले गरेको भनिएको दखलमा सहयोगीको भूमिका निर्वाह गरेको अभियोग लागेका फ्लीनमाथिको आरोप खारेज गरेको थियो ।कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या १३ लाख ९ हजार पुगेको छ भने ७८ हजार ७ सय भन्दा बढीको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस