उपत्यका भित्रिने क्रम बढ्दै

पत्रपत्रिकाबाट

शनिबार, २७ बैशाख २०७७, ०६ : ४६
उपत्यका भित्रिने क्रम बढ्दै

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ ।

यसअघि उपत्यका छाडेर घर जानेको तथ्याङ्क कुनै निकायसँग छैन । तथ्याङ्कको अभावमा बन्दाबन्दीको समयमा उपत्यका बाहिरिएका नागरिक शक्तिको आड वा लुकिछिपी पुनः भित्रिन थालेका छन् । कतिपय नागरिक विभिन्न नाकाबाट बिरामीको बहानामा एम्बुलेन्स मार्फत उपत्यका भित्रिन थालेका हुन् ।
लुकिछिपी उपत्यकाभन्दा बाहिरबाट उपत्यका भित्रिन थालेकाले व्यक्तिसँगै कोरोना भाइरस पनि भित्रिन सक्ने खतरा बढ्दै गएको कतिपयको भनाइ छ । यद्यपि काठमाडौँ उपत्यका अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहेको देखिएको छ ।

काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) का अनुसार कतिपय उच्च ओहोदाका व्यक्तिले पनि आफन्तलाई उपत्यका बाहिर–भित्र गराइरहेको स्थानीयवासीको गुनासो छ ।
काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दरराज वैद्यले पछिल्लो दुई सातामा उपत्यका बाहिर गएका मानिस उपत्यका भित्रिन थालेकाले रोक्न गाह्रो भएको बताउनुभयो । उहाँका अनुसार सीएमसी काठमाडौँले एक साताको बीचमा भीमढुङ्गा, दक्षिणकाली, साँखु लगायतका उपत्यका प्रवेश गर्ने मुख्य नाकामा अनुगमन गर्दा लुकिछिपी उपत्यकामा आउने क्रम नरोकिएको पाइएको हो ।

उपत्यका प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा व्यवस्था कडा गर्न सुरक्षा निकायलाई सीएमसीले आग्रह गरे पनि भित्रिने ठाउँ खुला भएकाले रोक्न गाह्रो भइरहेको बताइएको छ । जिल्ला समन्वय समिति काठमाडौँंका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी ४५ देखि ५० लाख जनसङ्ख्यामध्ये २० देखि २२ लाख उपत्यकाभन्दा बाहिरका छन् । उपत्यका बाहिरका २० देखि २२ लाख जनसङ्ख्यामध्ये बन्दाबन्दीको समयमा करिब १३ लाख जनसङ्ख्या उपत्यका छाडी बाहिर गएको अनुमान गरिएको छ । गोरखापत्रदैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस