Safal Khabar - लकडाउनमा डायलोसिसः गरीबको झन् बिजोग
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
खाेज

लकडाउनमा डायलोसिसः गरीबको झन् बिजोग
बिहिबार, २५ बैशाख २०७७, १५ : ०२
लकडाउनमा डायलोसिसः गरीबको झन् बिजोग
दुवै मिग्रौला फेल भएपछि लोग्नेले घरबाट निकालेकी डडेलधुराकी मन्दरी सावद । १७ बैशाख २०७७ मा आफन्तको सहायतामा सेती प्रादेशिक अस्पताल धनगढीमा निशुल्क डायलसिस गरेर बाहिरिंदै । तस्वीरःनिखिलआचार्य

- एस धीरेन : खोज पत्रकारिता केन्द्र

कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर–७ का नरबहादुर सुनारले २ वैशाख २०७७ मा ज्यान गुमाए । एकदशकदेखि मिर्गौला बिरामी नरबहादुरले ‘लकडाउन’ शुरू भएपछि घरमै ‘पेरोटोनियल डायलोसिस’ (पेटमा सर्जरी गरेर राखिएको पाइपमा आठ घण्टाको फरकमा आफैंले औषधि राख्न सकिने विधि) गर्दै आएका थिए । छोरा भारतीय सेनामा काम गर्ने भएकोले उनले ‘पेरोटोनियल डायलोसिस’ का लागि आवश्यक औषधि भारतबाट सहुलियतमा पाउने गर्थे ।

लकडाउन शुरू भएपछि सुनारले भारतबाट औषधि ल्याउन सकेनन् । धेरै जोडबल गरेर काठमाडौंबाट औषधि त मगाइयो तर औषधि पुगेको भोलिपल्ट नै उनी बिते । भान्जा राजकुमार सुनार भन्छन्, “मामाले एकसाता जति ‘पेरिटोनियल डायलोसिस’ को औषधि शरीरमा फेर्न पाउनुभएको थिएन ।”

Yeti Diistillery

कञ्चनपुरकै पुनर्वास नगरपालिका वडा नम्बर–५ सिमरीका २४ वर्षीय अनिरुद्र चौधरीलाई हिजोआज शनिवार र आइतवार निकै सकस पर्छ । खुट्टा सुन्निएका हुन्छन्, सास फेर्न गाह्रो हुन्छ । ९ चैत २०७६ देखि कोरोना भाइरस फैलन नदिन मुलुकमा शुरू भएको लकडाउनले मिर्गौला रोगी अनिरुद्रलाई ‘अब केबाट मात्रै जोगिनु’ भइरहेको छ ।

बुवा घनश्याम चौधरीले भने, “छोराको हालत देखेर शनिवाररआइतवार त आजै अन्तिमै हो कि भनेर आत्तिन्छौं ।” २०७६ असोज महीनादेखि सेती प्रादेशिक अस्पतालमा अनिरुद्रले हप्तामा दुईपटक डायलोसिस गर्दै आएका थिए । तर, लकडाउन शुरू भएदेखि अस्पतालले उनलाई सातामा एकदिन सोमवार मात्रै सेवा दिनसकिने भनेको छ । त्यसैले डायलोसिस गर्ने अघिल्ला दिनहरू शनिवार र आइतवार अनिरुद्रलाई मर्नु न बाँच्नु हुन्छ । अस्पतालमै भर्ना गरिदिन आफूले अनुरोध गर्दा नमानेको बुवा घनश्यामले बताए ।

सुर्खेत, वीरेन्द्रनगरकी ३४ वर्षीया अनिता रासकोटीलाई आजकल निकै तनाव छ । उनी चार वर्षदेखि घरमै बसेर गरिने ‘पेरिटोनियल डायलोसिस’ गर्दै आएकी छिन् । उनले नेपाल सरकारले उपलब्ध गराउने सुविधा अन्तर्गत डायलोसिसको लागि आवश्यक औषधि पाउँदै थिइन् । सरकारको नियम अनुसार सो औषधि एकपटकमा एक महीनाको लागि काठमाडौंबाट मात्रै उपलब्ध हुन्छ ।

लकडाउन शुरू भएपछि औषधि कसरी ल्याउने भन्ने समस्याले थिचेको छ उनलाई । उनले एउटा एम्बुलेन्स सुर्खेतबाट काठमाडौं आएको मौका छोपेर २ वैशाख २०७७ मा औषधि मगाइन् । तर, ‘स्टक’ थोरै भएको भनेर १५ दिनको लागि मात्र औषधि दिइयो । अनिताका श्रीमान् प्रेम रासकोटीले भने, “सहज रूपमा हिंडडुल गर्न पाइएको पनि छैन, त्यसमाथि पहिला भन्दा पनि थोरै समयका लागि मात्रै औषधि पाइयो ।” अब केही दिनमै औषधि सकिन्छ फेरि कसरी ल्याउने भन्ने चिन्तामा छन् रासकोटी दम्पती ।

पर्वत घर भई पोखराको मालेपाटन बस्दै आएका लक्ष्मण बिकलाई हिजोआज निकै सास्ती छ । वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा हुँदा मिर्गौलाले काम गर्न छोडेपछि नेपाल फर्र्किएका लक्ष्मण गण्डकी क्षेत्रीय अस्पतालमा सरकारले दिने निःशुल्क डायलोसिस सेवा लिइरहेका छन् ।

लकडाउन शुरू भएदेखि सार्वजनिक यातायात नचलेकोले अस्पताल पुग्न लक्ष्मणलाई सास्ती छ । उनी बस्ने ठाउँबाट अस्पताल पाँच किलोमिटर जति टाढा पर्छ । लक्ष्मणले भने, “एम्बुलेन्समा आउजाउ गर्ने हैसियत छैन, त्यसैले डायलोसिस गर्न दुई घन्टा हिंडेरै अस्पताल पुग्छु ।”

लक्ष्मणलाई औषधि किन्न पनि असजिलो हुँदै गएको छ । औषधि र घर खर्च चलाउन श्रीमतीले सागपात बेच्ने व्यवसाय गर्दै आएकी थिइन् । दुःखेसो गर्दैै लक्ष्मणले भने, “लकडाउनले गर्दा सागपात बेच्ने व्यापार पनि बन्द छ । यस्तै भयो भने महीनामा ४-५ हजारको औषधि कहाँबाट किन्नु मैले ?”

पोखरा उपमहानगरपालिका–३३ का दुतबहादुर बिकलाई झन् समस्या छ । गण्डकी क्षेत्रीय अस्पतालमा डायलोसिस गराइरहेका बिकको शरीरको तल्लो भाग चल्दैन । लकडाउनले उनलाई अस्पताल लैजान र ल्याउन परिवारलाई समस्या भएको छ । मिर्गौला पीडित सरोकार समाज कास्कीका सचिव सुरज शर्मा भन्छन्, “कमजोर आर्थिक अवस्था भएका मिर्गौलाका बिरामीलाई लकडाउन ठूलो समस्या भएको छ ।”

मीनबहादुर बिष्ट, भक्तपुरको धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रमा पाँच वर्षदेखि डायलोसिस गर्दै आएका छन् । सल्लाघारी नजिकै डेरा गरी बस्ने उनी निःशुल्क डायलोसिसको सेवा लिन कञ्चनपुरबाट भक्तपुर आएका हुन् । डाक्टरको सल्लाहमा केही समयदेखि उनी सातामा तीनपटक डायलोसिस गर्दै आएका थिए ।

मिर्गौला बिरामीको शरीरमा रगत उत्पादनलाई निरन्तरता दिन हरेक डायलोसिस पछि ‘इरिथ्रोप्रोटिन’ भन्ने सुई लगाउनुपर्छ । अहिले बजारमा उक्त सुईको पनि अभाव छ । पाइहाल्यो भने पनि रु।२०० बढी मूल्य तिर्नुपर्छ । बिष्ट भन्छन्, “भूकम्प र नाकाबन्दीको वेला पनि नभोगेको समस्या भोग्दैछु अहिले ।”

दाङको राप्ती गाउँपालिका वडा नम्बर–५ की दिलमाया पुनलाई सातामा दुईपटक डायलोसिस गर्न लमहीको सामुदायिक डायलोसिस सेन्टर पुग्नुपर्छ । लकडाउन भएपछि उनको खर्च बेपत्ता आकाशिएको छ । दिलमायाले टेलिफोनमा भनिन्, “पहिले रु।३० भाडा तिरेर अस्पताल जान्थें, लकडाउनले गर्दा एकपटकमा रु।७५० तिरेर एम्बुलेन्स चढ्नुपर्छ ।” मोटरसाइकलमा अस्पताल जाँदा प्रहरीले मोटरसाइकल जफत गरिदिएकोले एम्बुलेन्स चढ्न ऋण खोज्नु परेको दिलमायाको भनाइ छ ।

अस्पतालले घटाए सेवा

काठमाडौंका अधिकांश अस्पतालमा डायलोसिस गर्ने बिरामीलाई पनि अहिले उस्तै सास्ती छ । आउजाउ गर्न समस्या छ, कतिवेला कसको पालो आउने भन्ने अस्पतालको तालिका हेरफेर भएको छ । बिरामीले डायलोसिसको पूरा समय पाउन सकिरहेका छैनन् । निदान अस्पतालले सातामा दुईपटक डायलोसिस गरिरहेकालाई सेवा नघटाए पनि तीनपटक गर्ने बिरामीलाई दुईपटकमा झारेको अस्पतालका डायलोसिस इन्चार्ज दिनेश थापाले बताए । सातामा तीनपटक डायलोसिस गर्ने बिरामी निदानमा मात्रै ३५ जना छन् ।

मिर्गौला पीडित सरोकार समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीले भने, “काठमाडौंका अस्पतालहरूले पनि कर्मचारी तथा सामग्रीको अभाव देखाएर डायलोसिस सेवा घटाएका छन् ।” विभिन्न शिक्षण अस्पतालहरूमा पैसा तिरेर डायलोसिस गर्नेहरूलाई पनि लकडाउन पछि समस्या छ ।

सरकारले २०७३ सालदेखि विपन्न नागरिकका लागि निर्देशिका बनाएर निःशुल्क डायलोसिस सेवा दिने घोषणा गरे पनि यो सुविधा पाउन सजिलो छैन । वडा कार्यालयको सिफारिश चाहिन्छ, त्यसपछि प्रजिअसहित जिल्ला जनस्वास्थ्य समितिले सम्बन्धित अस्पतालका लागि सिफारिश गर्छ । त्यसपछि सो अस्पतालले ठाउँ भएमा मौका दिन्छ । नत्र अन्यत्र जानुपर्छ । निर्देशिका बन्नुअघि पनि सरकारले २०६३ सालदेखि विपन्न नागरिक औषधि उपचार कोष मार्फत मिर्गौला बिरामीलाई डायलोसिस सेवामा सहयोग गरिरहेको थियो ।

तर अहिलेसम्म पनि राजधानी बाहिर केही सुगम स्थानमा मात्रै डायलोसिसको सुविधा छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको विपन्न नागरिक औषधि उपचार कोषको २०७६ मंसीरको तथ्यांक अनुसार, देशभरि २० जिल्लाका ५७ अस्पतालमा यो सेवा उपलब्ध छ ।

यसमध्ये पनि मोरङको एउटा, जुम्ला र हेटौंडा गरी तीनवटा अस्पतालमा अझै सेवा शुरू हुनसकेको छैन । यसरी हेर्दा अहिले देशभरिका २० जिल्लाका ५४ वटा अस्पतालमा मात्रै यो सेवा उपलब्ध छ भनेर मान्नुपर्छ । तर देशमा लकडाउन शुरू भएपछि आवागमनमा मात्रै होइन यी अस्पतालहरूमा औषधिको आपूर्तिमा समेत समस्या देखिएको छ ।

स्वास्थ्य सेवा विभागमा विपन्न नागरिक उपचार कोष हेर्ने ‘नर्सिङ अफिसर’ मेनुका मोक्तानका अनुसार, औषधिको समस्या देखिएको जानकारी आएपछि आपूर्तिको लागि औषधि व्यवस्था विभागलाई पत्राचार भइसकेको छ । मोक्तानले भनिन्, “लकडाउनको पहिलो दुई साता केही समस्या पक्कै भएको तर अहिले सेवा सुचारु गराइसकेका छौं ।”

राजधानी बाहिर हालसम्म प्रदेश–१ को झापा, मोरङ र सुनसरी तीन जिल्लामा मात्र डायलोसिस सेवा उपलब्ध छ । यसैगरी प्रदेश–२ को धनुषा, सप्तरी र बारा समेत तीन जिल्ला, वागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, मकवानपुर र चितवन गरी ६ जिल्लामा यो सेवा उपलब्ध छ । गण्डकी प्रदेशको कास्की र बाग्लुङ दुई जिल्ला, प्रदेश–५ को दाङ, बाँके र रूपन्देही तीन जिल्ला र कर्णाली प्रदेशको सुर्खेत अनि सुदूरपश्चिम प्रदेशको कैलालीमा निःशुल्क डायलोसिस गर्ने सुविधा छ ।

यकिन तथ्यांक नभए पनि, नेपालमा हाल ३० हजार मिर्गौला रोगी रहेको चिकित्सकहरूको अनुमान छ । मिर्गौला रोग विशेषज्ञ डाक्टर सन्तोष गुरुङका अनुसार, “यसमा वर्षेनि तीन हजार हाराहारीमा नयाँ मिर्गौला बिरामीको संख्या बढिरहेको छ । तर बिरामीको चाप अनुसार डायलोसिस सुविधा छैन ।” राजधानीमा मात्रै सामान्य अवस्थामा निःशुल्क डायलोसिस गर्न एक हजार हाराहारीमा बिरामीहरू विभिन्न अस्पतालहरूमा पालो कुरिरहेका हुन्छन् ।

आधा मेशिन काठमाडौंमा

लकडाउन नहुँदै पनि गरीबलाई मिर्गौला उपचार पाउन सजिलो थिएन । कोषको तथ्यांक अनुसार, निःशुल्क डायलोसिस सेवा भएका ५४ मध्ये आधाभन्दा बढी अस्पताल काठमाडांै उपत्यकामा छन् । निःशुल्क डायलोसिस सेवा दिन देशभरिमा ५२५ वटा मेशिन मात्रै छन् । यीमध्ये २७६ मेशिन काठमाडौं उपत्यकामा छन् । यसरी हेर्दा सरकारले दिने निःशुल्क डायलोसिसको ५२ प्रतिशत सेवा काठमाडौं उपत्यका केन्द्रित छ ।

राजधानी बाहिरका १७ जिल्लामा बाँकी ४८ प्रतिशत मेशिन छन् । कोषको तथ्यांकमा ५२५ मेशिन देखिए पनि यी सबैले काम गरिरहेका हँुदैनन् । उदाहरणको लागि कोषको तथ्यांकमा सेती प्रादेशिक अस्पतालमा आठ वटा डायलोसिस मेशिन छन् । तर, अस्पतालमा १० वटा मेशिन छन् जसमध्ये संचालनमा पाँच वटा मात्रै छन् । डायलोसिस युनिटका इन्चार्ज दीपक भट्ट भन्छन्, “चार वटा बिग्रेका छन्, एउटा मेशिन आकस्मिक बिरामीको लागि भनेर छुट्याएर राखिएको छ ।”

प्रदेश–१ मा ५२ वटा मेशिन संचालनमा छन् । यसैगरी प्रदेश–२ मा ४८, वागमती प्रदेशमा ३०९, गण्डकी प्रदेशमा ३९, प्रदेश–५ मा ६५, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा आठ वटा मेशिनले निःशुल्क डायलोसिस सेवा दिइरहेका छन् । लकडाउन शुरू हुनु अघिदेखि नै बिरामीहरू सुविधा पाउने शहर वा राजधानी आएर भाडामा बसेका छन् । अहिले उनीहरूलाई अस्पताल आउजाउ लगायतका समस्या छन् ।

यसै पनि डायलोसिस मेशिनको उपलब्धताको दृष्टिले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सबैभन्दा पछि छ । २५ लाख हाराहारी जनसंख्या भएको सुदूरपश्चिम प्रदेशमा आठ वटा मेशिन र १५ लाख हाराहारी जनसंख्या भएको कर्णाली प्रदेशमा चार वटा मेशिन मात्रै चालु अवस्थामा छन् ।

मध्यपश्चिम क्षेत्रीय अस्पतालको डायलोसिस युनिटका इन्जार्ज मेडिकल अफिसर डाक्टर केएन पौडेलका अनुसार, “अस्पतालमा तीन सिफ्टमा तीनवटा मेशिनबाट २८ जना बिरामीले निःशुल्क डायलोसिस पाइरहेका छन् ।” लकडाउनले शुरूमा यसलाई प्रभावित बनाएको थियो । पौडेल भन्छन्, “केमिकलहरूको अभावमा दुई साता जति बिरामीहरूलाई सातामा एकपटक मात्र सेवा दियौं, अहिले आपूर्ति भएपछि सेवा नियमित भएको छ ।”

कर्णाली प्रदेशमा मिर्गौलाका बिरामी धेरै छन् तर मेशिनको अभावमा नयाँ आउने बिरामीलाई नेपालगञ्ज वा काठमाडौं ‘रेफर’ गरिरहेको डाक्टर पौडेलले बताए । पौडेलले भने झैं काठमाडौं बाहिरका अस्पतालमा सीमित मेशिन मात्रै संचालनमा भएकोले बिरामीहरूले त्यहाँ पालो पाउँदैनन् । त्यसैले बिरामीको चाप उपत्यकाका अस्पतालमा बढ्छ । लकडाउनका समयमा राजधानीमा मिर्गौला बिरामीहरूको बिचल्ली भएको समाचार आइरहनुमा यो पनि एउटा कारण हुनसक्छ ।

पालो पर्खिंदाको सकस

मानिसको मिर्गौलाले काम गर्न छोडेपछि ऊसँग दुईवटा विकल्प हुन्छन् । पहिलो प्रत्यारोपण, दोस्रो बाँचुन्जेल सातामा कम्तीमा दुईपटक डायलोसिस । मिर्गौलाले काम गर्न छोडेपछि हप्तामा दुईपटक डायलोसिस मेशिनको सहायताले शरीरमा जम्मा हुने विकार र तरललाई निकाल्नुपर्छ ।

अहिले देशभरिमा निःशुल्क डायलोसिस सेवा अन्तर्गत ५२५ वटा मेशिन संचालनमा छन् । एकपटक डायलोसिस गर्दा चार घन्टा समय लाग्छ । एउटा मेशिनलाई तीन सिफ्टमा चलाउँदा एक दिनमा एउटा मेशिनबाट तीन जनाको डायलोसिस गर्न सकिन्छ ।

सातामा दुईपटक गर्नुपर्ने भएकोले तेस्रो दिन फेरि पुरानै बिरामीको डायलोसिस गर्नुपर्ने निदान अस्पतालमा विपन्न नागरिक उपचारका इन्चार्ज दिनेश थापा क्षेत्रीले बताए । यसरी हिसाब गर्दा, तीन सिफ्टमा मेशिन चलाउँदा, एउटा मेशिनले ९ जनालाई मात्रै सेवा दिन सक्छ । कुनै अस्पतालमा दश वटा मेशिन छन् र तीन सिफ्टमा चलाइयो भने हप्तामा ९० जना बिरामीको डायलोसिस हुन्छ ।

यस्तो अवस्थामा ९१औं बिरामीलाई नियमित डायलोसिसको आवश्यकता प¥यो भने उसले पालो कुर्नुपर्छ । त्यसैले नयाँ बिरामीले पालो पाउने निश्चित हुँदैन । अस्पतालमा मेशिन थपियो, पुराना बिरामीमध्ये कसैको प्रत्यारोपण भयो, बिरामीले अस्पताल परिवर्तन ग¥यो वा उसको मृत्यु भयो भने मात्रै नयाँको पालो आउँछ ।

अस्पतालहरूका भनाइमा, मिर्गौला बिरामीको चाप पहिले जति नै भए पनि लकडाउनको समयमा पुराना बिरामीलाई मात्र सेवा दिन सकिएको छ । “शुरू–शुरूमा व्यवस्थापन गर्न असजिलो भएकोले चार घन्टाको डायलोसिसको समय तीन घन्टामा झारेर पनि बिरामीलाई सेवा दियौं” दिनेश भन्छन्, “लकडाउन शुरू भए यता पनि कसरी कसरी  बिरामी आइरहेकै छन् ।” अस्पतालहरूको असजिलो बताउँदै दिनेशले भने, “औषधि अभावले पुराना बिरामीलाई नै सेवा दिन धौ–धौ छ । फेरि कोरोना त्रासका कारणले नयाँ बिरामीलाई पालो दिन सकिएको छैन ।”

मिर्गौला बिरामीले पालो पाउन सजिलो छैन । किनभने पालो पाउन कसैले मिर्गौला प्रत्यारोपण गरेको हुनुप¥यो । नेपालमा मिर्गौला बिरामीको तुलनामा प्रत्यारोपण गर्नेको संख्या थोरै छ । अंगदाता हुनुपर्ने, प्रत्यारोपण पछि पनि नियमित औषधि खान ठूलो मात्रामा पैसा चाहिन्छ ।

त्यसबाहेक पुराना बिरामीलाई डायलोसिस गर्न अर्को अस्पताल पठाउन सहज छैन । किनभने सबै अस्पतालमा प्रतीक्षा सूची लामो हुन्छ । प्रतीक्षा सूची निजी भन्दा सरकारी अस्पतालमा लामो देखिन्छ ।

काठमाडौंमा निःशुल्क डायलोसिस सेवा दिन सरकारी अस्पतालहरूमध्ये भक्तपुरको शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा यतिवेला १७० जना भन्दा बढी प्रतीक्षा सूचीमा छन् । यो संख्या वीर अस्पतालमा १३० र त्रिवि शिक्षण अस्पतालमा २१६ छ । निजी अस्पतालहरूमा भने पालो पर्खिने सूची तुलनात्मक रूपमा छोटो हुन्छ ।

निजी अस्पतालहरूले सामान्य अवस्थामा संख्या हेरेर चार सिफ्टमा मेशिन चलाएर भए पनि सेवा दिन्छन् । बिरामीको चाप बढेपछि सुमेरु अस्पतालमा चार सिफ्टमा डायलोसिस भइरहेको मिर्गौला पीडित सरोकार समाजका केन्द्रीय अध्यक्ष सुवेदीले बताए । सिफ्ट थपेर सेवा दिएकोले निदान अस्पतालमा पालो पर्खिने बिरामीको संख्या अहिले १०र१५ मात्र रहेको इन्चार्ज दिनेश थापा क्षेत्रीले बताए ।

निःशुल्क डायलोसिस सेवा र विशेषज्ञ डाक्टरको परामर्शको सुविधा काठमाडौंकेन्द्रित छन् । निःशुल्क डायलोसिसको पालो आउने आशामा मिर्गौला बिरामीहरूले विभिन्न निजी शिक्षण अस्पतालमा पैसा तिरेर डायलोसिस गराइरहेका छन् ।

सामान्य अवस्थामा दक्षिणी सीमा जोडिएका जिल्लाका बिरामीहरू भारत गएर पनि डायलोसिस गर्छन् । लकडाउनले गर्दा भारत आउजाउ गर्न समस्या भएपछि उनीहरूको पनि विचल्ली भएको छ । बोर्डर बन्द भएकोले कञ्चनपुर बह्मदेवका मोहन जोशी भारतको बरेलीमै बसेर डायलोसिस गरिरहेका छन् । टेलिफोन कुराकानीमा जोशी भन्छन्, “लकडाउन पछि पनि अस्पतालमै बस्नु परेको छ । यो लम्बिंदै जाँदा अब त पैसा जोहो गर्न समेत असजिलो भइरहेको छ ।” आफ्नै खर्चमा अन्य मुलुक गएर डायलोसिस गरिरहेका बिरामीको संख्या थाहा पाउन सजिलो छैन ।

मिर्गौला पीडित सरोकार समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदी भन्छन्, “निःशुल्क उपचारका लागि नाम दर्ता गर्ने धेरै बिरामी अहिले सम्पर्कविहीन छन् । कोही दुःख पाएर घरमै थलिएका, कतिपय विते पनि होलान् ।” सुवेदीका भनाइमा आफैं पैसा तिरेर डायलोसिस गर्ने बिरामीहरूलाई पनि यतिवेला असाध्यै असजिलो छ । किनकि कतिपय निजी अस्पतालहरूले यो सेवा नै बन्द गरेका छन् । सुवेदीले भने, “हामी बिरामीको सम्पर्कमा पुग्न कोशिश गरिरहेका छौं तर लकडाउनका कारण सकिरहेका छैनौं ।”

काठमाडौंमा पैसा तिरेर डायलोसिस गराइरहेका थुप्रै बिरामीहरूले प्रायः सबै अस्पतालमा निःशुल्क डायलोसिसका लागि पालो पाउन नाम दर्ता गराएका हुन्छन् । यस्ता बिरामीले कुनै एउटा अस्पतालमा पालो पाएपछि पनि अर्को अस्पतालको सूचीबाट नाम हटाएका हुँदैनन् ।

जस्तो कि भक्तपुरको शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको सूचीमा १०३ नम्बरमा नाम भएका सर्लाहीका भुल्ला पासवान काठमाडौंको भेनस अस्पतालमा निःशुल्क डायलोसिस गराइरहेका छन् । अहिले भुल्लालाई समस्या छ । डायलोसिसको समय तीन घन्टामा झारिएकोले स्वास्थ्यमा समस्या देखिन थालेको छ । भुल्ला भन्छन्, “लकडाउनले डायलोसिस पछि लगाउने सुई समेत पाइन छोड्यो ।”

लकडाउन हुनुअघि कैलालीका कालु लुहारले निदान अस्पतालमा पालो पाइसकेका छन् । उनको पनि अंग प्रत्यारोपण केन्द्रको प्रतीक्षा सूचीमा अझै ६८ नम्बरमा नाम छ । यस्तै अर्घाखाँचीका उमालाल अधिकारीले मिर्गौला प्रत्यारोपण गरिसकेका छन् । उनलाई अहिले डायलोसिसको आवश्यकता छैन । तर, उमालाल अधिकारीको नाम अंग प्रत्यारोपण केन्द्रको प्रतीक्षा सूचीको ४८ नम्बरमा अझै दर्ता छ ।

यो भद्रगोल अवस्थाले गर्दा सरकारले कुन बिरामीको लागि कुन अस्पताललाई कति पैसा तिर्छ भन्ने पनि स्पष्ट छैन । मिर्गौला बिरामीहरूले कुन अस्पतालबाट कहिलेसम्म कति पटक सेवा पाए भन्ने कुरा अस्पतालले गर्ने दाबीको भरमा सरकारले पैसा तिर्ने गरेको छ ।

निजी अस्पतालबाट निःशुल्क डायलोसिसको सेवा उपलब्ध भइरहेकोले त्यहाँ पारदर्शिताको प्रश्न पनि सँगै छ । यसलाई अनुगमन गर्ने कुनै भरपर्दो संयन्त्र सरकारसँग छैन । मिर्गौला बिरामीले सेवा लिन शुरू गरेपछि विद्युतीय प्रणालीमा औंठाछाप गरी सेवा पाएको तथ्यांक राख्ने व्यवस्था गर्न सके यो पारदर्शी हुनसक्छ ।

जसोतसो निःशुल्क डायलोसिसको सेवा पाएका बिरामीहरूलाई पनि समस्यै छ । भक्तपुरमा डेरा गरी बस्ने कञ्चनपुरका मीनबहादुर बिष्टका भनाइमा, “डायलोसिसको शुल्क पो सरकारले तिरिदिएको छ, त्यो बाहेक औषधि किन्नुपर्छ । राजधानीमा कुरुवासहित डेरा गरी बस्न अनि लकडाउनमा अस्पताल आउजाउ गर्न पनि समस्या छ ।”

आफ्नो बुवाको डायलोसिस गर्न सुमेरु अस्पताल आइरहने खोटाङकी ज्यासन सिग्देल भन्छिन्, “लकडाउनले मिर्गौला बिरामीलाई मर्नु न बाँच्नु बनाएको छ । उपचारको लागि राजधानीमा डेरा गरी बस्ने र आर्थिक अवस्था नाजुक भएकाहरूको समस्या चर्को छ ।” उनी थप्छिन्, “कतिलाई खर्चको अभाव छ, कतिले औषधि पाएका छैनन् । लकडाउनमा अस्पतालमा जानु–आउनु गरिरहनुपर्ने भएकोले छिमेकी र घरधनीहरूले समेत राम्रो व्यवहार गरिरहेका छैनन् ।”

प्रतिक्रिया दिनुहोस