प्रधानमन्त्री ओली किन डराए स्थायी समिति बैठक देखि ?

सफल खबर संवाददाता

विहीबार, २५ बैशाख २०७७, ०८ : ४४
प्रधानमन्त्री ओली किन डराए स्थायी समिति बैठक देखि ?

काठमाडौं । बुधबार बिहान कार्यकारी अध्यक्ष प्रचण्डसँगको भेटमा धुम्बाराही पार्टी कार्यालयमा स्थायी समिति बैठक बोलाउन तम्तयार भएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली साँझ अचानक बैठकबाटै भागे । उनको प्रस्ताव थियो– ‘अहिले स्थायी समिति बैठक नै औचित्यहिन छ ।’ नेकपाको विधान अनुसार २५ प्रतिशत सदस्यले बैठक माग गरे बैठक माग गरेको १५ दिनभित्र पार्टी बैठक बोलाउन पर्छ ।

प्रधानमन्त्री आफैले अनावश्यक रुपमा पार्टी बैठक छलेर ल्याएको दुई अध्यादेश (जुन पछि चौतर्फी विरोधपछि फिर्ता भयो) प्रकरण बारे छलफल माग गर्दै स्थायी समितिका २० जना सदस्यले हस्ताक्षर सहित लिखित माग दुई अध्यक्षसँग गरेका थिए ।  १० वैशाखमै उनीहरुले बैठक माग गरेका थिए । विधानतः त्यसयता आज ठयाक्कै १५ दिन पुग्छ । २० गतेको सचिवालयले पनि आजकै लागि स्थायी समिति बैठक बोलाउने औपचारिक निर्णय गरेको थियो ।

तर अचानक प्रधानमन्त्री ओलीले बैठक नै आवश्यक छैन भन्दै सचिवालय बैठकबाट जंगिदै निस्केपछि नेकपा बैठक अनिश्चित कालका लागि स्थगित हुन पुग्यो । प्रधानमन्त्री ओली अध्यादेश प्रकरणपछि रक्षात्मक बन्न पुगेका छन् । पार्टी सचिवालय, स्थायी समिति देखि केन्द्रीय समिति सबैतिर अल्पमतमा रहेका ओलीले त्यसपछि अनेक फन्डा पार्टीभित्र देखाए । सचिवालयमा आफ्नो बहुमत पु¥याउन उनले १७ वैशाखको सचिवालयमा उनको राजीनामा नै माग भयो । 

पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग सचिवालयमा उठ्यो । त्यसलाई छल्न र सचिवालयमा आफुविरुद्ध बन्दै गएको मोर्चाबन्दी तोड्न उनले कोरोना संकटपछि राजीनामा दिने, त्यसपछि वामदेव गौतमलाई संसदमा ल्याएएर प्रधानमन्त्री बनाउने, वरिष्ठ नेता माधव नेपाललाई पार्टी विधान संसोधन गरेर तेश्रो अध्यक्ष बनाउने सम्मका प्रस्ताव ल्याए । त्यो अस्त्र नेकपाका अन्य नेताहरुलाई आश्चर्यचकित पार्ने प्रस्ताव थियो । यसले नेकपाभित्र उनका विरुद्ध बन्दै गएको बलियो मोचाबन्दी तोडने अस्त्र पनि बन्ने उनले ठाने ।

नभन्दै २० वैशाखको सचिवालयमा ओलीले आफु विरोधी मोर्चामा रहेका उपाध्यक्ष वामदेव गौतमलाई आफनो पक्षमा ताने । उनी सचिवालयमा एकाएक बहुमतमा देखिए । कतिपय नेताले पार्टी विभाजन नहोस भन्नका लागि पनि सचिवालयमा उनलाई साथ दिए । त्यही बैठक थियो, २५ वैशाख (आज) का लागि स्थायी समिति बैठक बोलाउने निर्णय भएको । प्रधानमन्त्री ओलीको सत्ता संकट तत्कालका लागि टरेको र पहिलो पटक आफनो कमजोरी स्वीकार्दैं प्रधानमन्त्रीले पार्टी बैठकमा आत्मआलोचना गरी अब गल्ती नगर्ने, पार्टीका कमजोरी सच्याउदै जाने, विधि प्रक्रिया अनुसार अगाडी बढने प्रतिबद्धता गरेको ।

तर त्यसको ४ दिन नपुग्दै उनी फेरि आफैले पार्टी बैठकमा गरेको प्रतिबद्धताबाट पछि हटे । स्थायी समिति बैठक एक दिन राख्ने, त्यहाँ नेताहरुलाई बजेट, नीति कार्यक्रम र कोरोनाका विषयमा मात्र छलफल गर्न दिने र अन्य विषयमा मुख थुन्ने प्रयास उनको थियो । तर स्थायी समिति सदस्यहरुले सबै विषयमा छलफल खुल्ला गर्न पाउनु पर्ने, सचिवालयले एजेण्डा नल्याए एजेण्डा थप गरेर पनि ल्याउने, एक ब्यक्ति एक मुख्य जिम्मेवारीको मुद्धा चर्काउने र अन्ततः पार्टीलाई नटेरे राजीनामा नै माग्ने सम्मका योजना स्थायी समिति सदस्यहरुले बनाए ।

बल्लबल्ल टरेको भनिएको सत्ता संकट फेरि स्थायी समितिमा बल्झिने देखेपछि ओली डराईरहेका थिए । त्यसमाथी उनले छलछाम र अनेक प्रलोभनमा आफुतिर तानेका उपाध्यक्ष गौतमले मंगलबार नै आफ्ना निकट नेता माधव नेपाल कँहा पठाएर आफु ओलि तिर नरहेको सन्देश पठाएका थिए । बुधबार बिहानै प्रचण्डलाई भेट्न उनी खुमलटार सम्म पनि पुगे । त्यहाँ पनि उनले आफु ओलीसँग नरहेको र आफुलाई विश्वास गर्न आग्रह गरेका थिए । जब बुधबार स्थायी समितिको एजेण्डामा छलफल गर्न सचिवालय बैठक बालुवाटारमा बस्यो ।

गौतमले एक ब्यक्ति एक पदको विषय मात्र उठाएनन, आफु कसैको गुटमा नरहेको भन्दै अब आफुले पनि गुट निर्माण गर्ने खुल्ला चेतावनी दिए । ओलीले त्यसपछि बुझिहाले–फेरि गौतम आफुसँग भड्किए । स्थायी समिति बैठक माग गर्ने २० जना सदस्यले बैठकमा एकीकृत धारणा राख्ने गरी छलफल पनि यो बीचमा चलाईसकेका थिए । ४४ सदस्यीय स्थायी समितिमा ओली मुश्किलले १४ जना नेताको मात्र समर्थन पाउनेमा खुम्चिने थिए ।

बाँकी ३० जना नेता उनको विपक्षमा हुने थियो । त्यो तस्विर समेत देखेका ओली सोही कारण पनि डराएका थिए । अन्तत उनले स्थायी समिति बैठक राख्नै चाहेनन् । सचिवालय बैठक बीचमै छोडेर हिडे । स्थायी समिति नै अनिश्चतकालका लागि रोकिन पूग्यो । अब ओली बजेट पछि मात्र बैठक बोलाउन तयार हुने देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस