तातोपानी भन्सारको अवरोध खुलाउन पहल

बुधबार, २४ बैशाख २०७७, १४ : ३०
तातोपानी भन्सारको अवरोध खुलाउन पहल

- देवराज सुवेदी 
मेलम्ची । सामानबाट कोरोना सङ्क्रमण सर्न सक्ने भन्दै स्थानीयवासीले अवरोध गरेपछि तातोपानी भन्सारले उद्योग वाणिज्य सङ्घ, नेपाल सीमापार व्यापार सङ्घ, बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका प्रमुखलगायतसँग छलफल गर्दैछ ।

स्थानीयवासीले चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना सर्न सक्ने भन्दै भन्सारमा आइपुगेका ती गाडी कुनै हालतमा काठमाडौँ जान नदिने बताउँदै भन्सारमा धर्ना दिएका थिए । अवरोधका बीच तातोपानी सुक्खा बन्दरगाहमा आइपुगेका स्याउ र लसुनका कन्टेनर मङ्गलबार काठमाडौँ पठाइएको छ । आइतबार चीनबाट नेपाल ल्याइएका लसुन र स्याउका सात कन्टेनर काठमाडौँ पठाइएको भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । मङ्गलबार  लसुनका तीन गाडी रस्याउका चार कन्टेनर काठमाडौँ पठाइएको हो ।

आगामी दिनमा कसरी अघि बढ्ने भन्ने सल्लाह गर्छौँ भनेपछि कन्टेनरहरु सहजरूपमा जान दिएको तर थप सामानका लागि छलफल गर्नुपर्ने अवस्था रहेको प्रमुख खत्रीले बताउनुभयो । 

घरघरमा राहत बाँड्दै बाह्रबिसेका प्रमुख

लकडाउनका कारण छाक टार्नै नसकिरहेकालाई घरघरमा पुगेर राहत वितरण शुरु गरिएको छ । अतिविपन्न र ज्यालादारी गरेर जीवन धानिरहेकाहरु समस्यामा परेपछि बह्रबिसे नगरपालिकाले टोलटोलमा पुगेर खाद्यान्न राहत वितरण शुरु गरेको हो । मङ्गलबार बाह्रबिसे नगरपालिका–१ स्थित दुर्गम क्षेत्र घोर्थलीमा विपन्नका आँगनमै पुगेर प्रमुख निमफुन्जो शेर्पाले खाद्यान्न प्रदान गर्नुभयो ।

मङ्गलबार घोर्थलीका विपन्न र श्रमिक मजदुर गरी ६८ परिवारलाई ३० किलोग्राम चामलसहित दाल, नुन र खानेतेल प्रदान गरिएको छ । ट्रकमा खाद्यान्न लगेर उनीहरुलाई घरआँगनमै वितरण गरिएको थियो । वडास्तरमा वडाध्यक्षको नेतृत्वमा एक वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि र वडा सचिव सम्मिलित समिति बनाएर विपन्न र मजदुरको पहिचान गरिएको थियो ।

जनप्रतिनिधिको १५ दिनको सुविधा कोषमा

चौतारा साँगाचोकगढी नगरपालिका जनप्रतिनिधिले आफूले पाउने सेवा सुविधा कटौती गरेर नगर विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने भएका छन् । मङ्गलबार बसेको कार्यपालिका बैठकले प्रमुखदेखि वडा सदस्यसमेतले लिँदै आएको मासिक सुविधाबाट १५ दिनको रकम विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको नगरप्रमुख अमानसिं तामाङले जानकारी दिनुभयो । नगरप्रमुखदेखि सबै सदस्यको १५ दिनको सुविधावापतको रकम जम्मा गर्दा रु पाँच लाख ३० हजार हुन आउँछ ।

कार्यपालिकाको गत बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणपूर्व तयारीका लागि विकास बजेटबाट रु ५० लाख विपद् व्यवस्थापन कोषमा रकमान्तर गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसका कारण नगरमा बेरोजगारी बढिरहेको अवस्थामा नगरभित्रका बेरोजगार युवालाई आफ्नो वडाभित्रको विकास निर्माणकार्यमा लगाइने निर्णयमा उल्लेख गरिएको छ । साथै गत वर्ष प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा समावेश भएका बेरोजगार नगरवासीलाई रोजगार दिने भएको छ ।(रासस)