तातोपानी नाकाबाट अनावश्यक सामान आयात हुन थालेको भन्दै भोटेकोशीका जनप्रतिनिधि आन्दोलित

आइतबार, २१ बैशाख २०७७, १२ : २२
तातोपानी नाकाबाट अनावश्यक सामान आयात हुन थालेको भन्दै भोटेकोशीका जनप्रतिनिधि आन्दोलित

– देवराज सुवेदी
मेलम्ची । तातोपानी नाकाबाट कोरोना भाइरस प्रतिरोधी स्वास्थ सामग्री र खाद्यान्नभन्दा पनि अनावश्यक सामान आयात हुन थालेको भन्दै भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधिले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । तातोपानी भन्सारका कर्मचारी र व्यापारीको मिलेमतोमा स्याउ, लसुनजस्ता सामान तातोपानीमा आएको उनीहरुको भनाइ छ ।

भोटेकोशी गाउँपालिका–१ का वडाध्यक्ष मुके शेर्पाका अनुसार सो नाकाबाट स्वास्थ सामग्री र अतिआवश्यक खाद्यान्न मात्रै ल्याउन चीन तथा नेपालका प्रशासनिक र सुरक्षाकर्मीको बैठकले निर्णय गरेको थियो । केही दिनदेखि अतिआवश्यकभित्र नपर्ने स्याउ र लसुन ल्याएको भन्दै गाउँपालिकाका वडाध्यक्षहरुले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । लकडाउनका बेला अनावश्यक वस्तु स्याउ, लसुनजस्ता सामान आयात हुन थालेपछि सीमावर्ती गाउँपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रिएका हुन् ।

स्याउ र लसुन ल्याएको भन्दै गाउँपालिका–१ का अध्यक्ष शेर्पा, २ का अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ, ३ का अध्यक्ष कैलाश पौडेल र ४ का अध्यक्ष साङदोर्जे शेर्पाले वैशाख १९ गते ज्ञापनपत्र बुझाउनुभएको हो । भन्सार प्रमुखले ज्ञापनपत्र लिन नमानेपछि वडाध्यक्षहरुले भन्सार कार्यालयमा सुरक्षा दिइरहेका प्रहरीमार्फत भन्सार कार्यालयलाई ज्ञापनपत्र बुझाउनुभयो ।

गाउँपालिका–२ का अध्यश्र श्रेष्ठले कोरोना भाइरसका कारण लकडाउन भएको बेला नाकाबाट स्वास्थ सामग्री र अतिआवश्यक खाद्यवस्तु (चामल, दाल, तेल, नुन) मात्रै ल्याइनुपर्ने हो तर केही दिनअघि भन्सारका कर्मचारी, केही व्यापारी, प्रशासन, सुरक्षाकर्मीको मिलेमतोमा स्याउ र लसुन ल्याइएको प्रति आक्रोश व्यक्त गर्नुभयो ।

नेपाल भित्रिएका स्याउ र लसुन राजधानी लैजान नदिने र केही गरी सो वस्तु काठमाडौँ लैजाने प्रयास गरिए वडाध्यक्ष र स्थानीयवासीले प्रतिकार गर्ने वडाध्यक्षहरुले चेतावनी दिएका छन् । तत्कालका लागि कारोना भाइरस प्रतिरोधी सामग्रीबाहेकका सामान नल्याउन पनि वडाध्यक्षहरुले भन्सार कार्यालयलाई आग्रह गरेका छन् ।

लकडाउनमा स्वास्थ सामग्री र खाद्यान्नबाहेक स्याउ, लसुनलगायतका वस्तु ल्याइएको खण्डमा वडावासी र गाउँपालिकावासी सशक्त प्रतिकार गरेर सो सामान सबैको रोहवरमा नष्ट गर्ने वडाध्यक्षहरुले बताएका छन् । गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले व्यापारी र भन्सारका कर्मचारीको मिलेमतोमा सामान आएको जानकारी दिनुभयो ।

मापदण्ड नपुगेको भन्दै भोटेकोशीको क्वारेन्टाइन बन्द

मापदण्ड नपुगेको भन्दै भोटेकोशीका १० श्ययाको क्वारेन्टाइन बन्द गरिएको छ । शनिबार अनुगमनका क्रममा १८ श्ययामध्ये आठ श्यया मात्र मापदण्ड पूरा भएको पाइएकाले बाँकी १० वटालाई खारेज गारिएको जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गादत्त चापागाईँले बताउनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, सहायक जिल्ला प्रमुख बाबुराम खनाललगायतले बाह्रबिसे क्षेत्रीय क्वारेन्टाइन लामोसाँघुलगायत आसपासका क्वारेन्टाइनको अनुगमन गर्नुभएको जिल्ला समन्वय समितिका प्रमुख तामाङले जानकारी दिनुभयो । उहाँले अन्य स्थानका क्वारेन्टाइनको पनि अनुगमन गरी मापदण्ड नपुगेकाहरु बन्द गरिने बताउनुभयो । 

यसैगरी शनिबार बाह्रबिसे आसपासका आठ एम्बुलेन्स चालकलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पिपिइ सेट) वितरण गरिएको छ । चालकका लागि प्रदान गरिएको स्वास्थ्य सामग्रीमा पुनः प्रयोग गर्न मिल्ने व्यक्तिगत सुरक्षा सेट, मास्क, बुट र चश्मासमेत रहेको छ ।

नेपाली काङ्ग्रेस बाह्रबिसेको ध्यानाकर्षण

राहत वितरणमा बाह्रबिसे नगरपालिकामा नेपाली काँग्रेसको अवरोध भन्ने समाचारप्रति काँग्रेस बाह्रबिसेले ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेसका स्थानीय युवानेता युधीर पौडेलले राहत वितरणमा कतै अवरोध नगरेको बताउनुभयो । 

उहाँले कोरोना भाइरसले अप्ठ्यारोमा परेकालाई पार्टीको तर्फबाट राहत वितरण गरिरहेको पनि जानकारी दिनुभयो । विपद्को बेला स्थानीय सरकारसँगै सहयोगी रहने भन्दै हल्लाका पछाडि नलाग्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ । यस्तै बाह्रबिसे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र पौडेलले राहतको मापदण्ड बनाएर नगरले राहत वितरण गरिरहेको जानकारी दिनुभयो । (रासस)