स्पेनमा लकडाउन खुकुलो भएसंगै मास्क अनिवार्य

आइतबार, २१ बैशाख २०७७, ०८ : ४८
स्पेनमा लकडाउन खुकुलो भएसंगै मास्क अनिवार्य

एजेन्सी । स्पेनमा सार्वजनिक यातायातको प्रयोग गर्दा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको छ । सोमबारदेखि लकडाउन केही खुकुलो बनाउने तयारी गरेको स्पेन सरकारले सार्वजनिक यातायातमा चढ्दा सबैले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लागु गरेको हो ।

प्रधानमन्त्री पेद्रो सान्चेजले सरकारले ६० लाख मास्क वितरण गर्ने बताएका छन् । विशेष गरी ती मास्कहरु सार्वजनिक यातायातका स्टेशनहरुमा वितरण गरिने छ । यस्तै थप ७० लाख मास्क स्थानीय अधिकारीलाई प्रदान गर्ने प्रधानमन्त्री सान्चेजले उल्लेख गरे ।

सात हप्तापछि शनिबार व्यश्कहरुले पनि घर बाहिर निस्किएर व्यायाम गर्न पाएका थिए । हप्तादिन अघि नै १४ वर्षमुनिका बालबालिकाहरुका लागि लकडाउन खुकुलो पारिएको थियो ।  युरोपका अरु देशहरुमा पनि लकडाउन खुकुलो पार्न थालिएको छ । तर सबै देशमा सामाजिक दूरी भने कायम गरिएको छ । केही देशमा पसल तथा सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

युरोपमा सबैभन्दा बढी प्रभावित भएको इटालीमा पनि लकडाउन केही खुकुलो पार्ने तयारी छ । इटालीमा अहिलेसम्म २८ हजार ७ सय १० जनाको ज्यान गएको छ । यस्तै बेलायतमा २८ हजार १ सय ३१, स्पेनमा २५ हजार १ सय तथा फ्रान्समा २४ हजार ७ सय ६० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस