कविता : कार्यकर्ता

शनिबार, २० बैशाख २०७७, १२ : ५१
कविता : कार्यकर्ता

- चन्द्र गुरुङ

नेताहरू

रक्सी पिलाउँदै हाम्रो आस्था भत्काउँछन्

नोट सुँघाउँदै हाम्रो विवेक फसाउँछन्

मासुभात खुवाउँदै हाम्रो बुद्धि लठ्ठयाउँछन्

जागिरको आस गराउँदै हाम्रो चेतना मास्छन्

सुखको लोभ देखाउँदै हाम्रो आदर्श खोस्छन्

यसरी

जब हामी नेताको पछाडि हिँड्न थाल्छौँ

हामीसित–

आस्था

विवेक

बुद्धि

चेतना

आदर्श

यी केही बाँकी रहँदैनन् ।

आफ्नो नेताको विरोध सुन्न चाहेन

उसले दुबै कान थुन्यो

आफ्नो नेताको गल्ती हेर्न चाहेन

उसले दुबै आँखा पनि छोप्यो ।

थुनिएको कान

छोपिएको आँखा

जब–

उसलाई देशको लागि बोलाइयो

उसले केही सुनेन

उसले केही देखेन ।

वरिपरि छन्

बेरोजगार युवा अनुहारहरू

अभावमा झुकेका शिरहरू

आसमा जोडिएका हातहरू

निराशामा दबिएका आवाजहरू ।

यो अभावमा

यो निराशामा

यो अँध्यारोमा

नेताले देख्छ–

आफ्नो लागि थुप्रै थुप्रै सम्भावना ।

प्रतिक्रिया दिनुहोस