प्रहरी जवानविरुद्धको जाहेरीमा अनुसन्धान शुरु

शनिबार, २० बैशाख २०७७, १२ : ४४
प्रहरी जवानविरुद्धको जाहेरीमा अनुसन्धान शुरु

बलेवा । बागलुङ नगरपालिका–२ माझकोट आनन्द चौपारीस्थित डेरा गरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडीलाई हिरासतमा लिएको छ । तनहुँको व्यास नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा दवाडी जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत थिए ।

मृतक किसानले लेखेको सुसाइटनोट र परिवारले दिएको जाहेरीका आधारमा दवाडीलाई हिरासतमा लिइ अनुसन्धान शुरु गरिएको हो । जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै मृतक सम्झना किसानका बुबा खड्कबहादुर सार्कीले बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा किटानी जाहेरी दिनुभएको थियो ।

सार्कीले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि दवाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया थालिएको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिनुभयो । दवाडीविरुद्व आत्महत्या दुरुत्साहनअन्र्तगत मुद्दा दायर गर्ने तयारी भएको प्रनि केसीले बताउनुभयो । गत भदौ १ गतेदेखि कार्यान्वयनमा आएको देवानी संहिता २०७६ ले आत्महत्या दुरुत्साहन गर्नेलाई समेत कारवाहीको व्यवस्था गरेको छ । आत्महत्या दुरुस्साहन मुद्दामा पाँच वर्षसम्म कैद र रु ५० हजार जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।

सम्झना मङ्गलबार बिहान आफू बस्दै आएको कोठाको सिलिङमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । सम्झनाले जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई सम्बोधन गरी लेखेको सुसाइटनोटमा त्यहीँ कार्यरत प्रहरी जवान राकेश दवाडीका कारण आफूले आत्महत्या गर्न बाध्य भएको उल्लेख छ । आत्महत्या गर्नुपूर्व सम्झनाले प्रहरी प्रमुखलाई सम्बोधन गरी लेखेको नोटमा दोषीमाथि आवश्यक छानबिन गरी कारवाही गर्न अनुरोध गरिएको छ । विसं २०७५ भदौ ५ गतेदेखि प्रहरी जवान दवाडीसँग चिनजान भई मायामा फस्दा बिचल्ली भई आत्महत्याको बाटो रोज्नुपरेको सुसाइटनोटमा उल्लेख छ ।

दवाडीविरुद्ध मुद्दा दर्ता भएर म्याद थप भएपछि परिवारले मृतक सम्झनाको शवलाई शुक्रबार दाहसंस्कार गरेका छन् । प्रहरीले उनीहरुको सम्बन्ध, मोबाइलमा भएका पछिल्ला संवादलगायत विषयमा अनुसन्धान थालेको छ । कानूनअनुसार, दोषी ठहर हुने अवस्था आए अदालतले उनलाई कारवाही तोक्ने र सोहीअनुसार हुने केसीले बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस