गीत

शनिबार, २० बैशाख २०७७, ११ : ४०
गीत

साङ्केतिक फोटो

- रेशमलाल श्रेष्ठ

जबरजस्ती तिम्रो भाग्य कुन पापीले लुट्यो ?
राती शान्त हुने शहर दिउँसै पनि सुत्यो ।

कता गयो लावा लस्कर छैन हिंडडुल,
सलहझैं ओइरो लाग्ने मनिसको हुल ।
मान्छेसित डराएर मान्छे भित्र लुक्यो,
राती शान्त हुने शहर दिउँसै पनि सुत्यो ।

यता जाउं बन्द देख्छु उता जाउं बन्द,
आफ्नो आफ्नो घरभित्र आफै नजरबन्द ।
सानो गल्ती कस्ले गर्यो सबको भाग्य फुट्यो,
राती शान्त हुने शहर दिउंसै पनि सुत्यो  ।

सांस हुन्जेल आश हुन्छ सब्ले खानु पर्छ,
हुनेखाने, हुंदाखाने सबै बॉच्नु पर्छ ।
गाउं, गाउं बस्तीबाट चर्को आवाज उठ्यो,
राती शान्त हुने शहर दिउंसै पनि सुत्यो ।

फर्क दाजु फर्क भाइ फर्क दिदी बहिनी,
माया गरौं आफ्नै माटो आफ्नै मातृभूमि ।
टाढा हुंदा भूस्वर्गको माया मोह छुट्यो,
राती शान्त हुने शहर दिउंसै पनि सुत्यो ।

जबरजस्ती तिम्रो भाग्य कुन पापीले लुट्यो ?
राती शान्त हुने शहर दिउंसै पनि सुत्यो ।

प्रतिक्रिया दिनुहोस