होङ्सी शिवम सिमेन्ट कारखानाको लापरवाहीका कारण एक मजदुरको ज्यान गयो

पैसाको दम्भले सञ्चालकमा मात लागेको स्थानीयको आरोप

प्रकाश सिग्देल

शुक्रबार, १९ बैशाख २०७७, १५ : १९
होङ्सी शिवम सिमेन्ट कारखानाको लापरवाहीका कारण एक मजदुरको ज्यान गयो

– प्रकाश सिग्देल
नवलपुर । नवलपुरको दुम्किबास सर्दीमा रहेको होङ्सी शिवम सिमेन्ट कारखानाको लापरवाहीका कारण एक जना कर्मचारीकोे ज्यान गएको छ ।

यही १७ गते दिउसो कारखाना सफा गर्ने क्रममा रोलरमा बाँधिएको त्रिपाल खोल्ने क्रममा खसेर भिरकोट ६ तनहु स्थाई घर भएका २५ वर्षीय मदन दाश श्रेष्ठको मृत्यु भएको स्थानीयहरुले बताएका छन् । सिसिआर कन्टोलरका रुपमा कार्यरत श्रेष्ठले रोलर सफाईका लागि त्रिपाल खोल्दा त्रिपाल सँगै खसेर ढलानकमा टाउको बजारिएको र अस्पताल लान ढिलाई गर्दा उनको ज्यान गएको त्यहाँ कार्यरत कर्मचारीहरु बताउछन् ।

उनी खसेको धेरै बेरपछि मात्रै उनलाई कारखानाकै एउटा गाडिमा त्रिपाल ओडाएर अस्पताल लगिएको बताइएको छ । कारखाना प्रशासनले भने यो विषयलाई गुपचुप राखेको छ । खस्नासाथ कानबाट रगत बगेर छट्पटिएका उनको उपचारका लागि लाँदै गर्दा बाटोमा मृत्यु भएको र समयमै उनलाई अस्पतल लान सकेको भए बाच्न पनि सक्ने कर्मचारीहरुले बताए । 

कारखाना प्रशासनले यो विषयलाई गुपचुप राखि उपचारका लागि भनि डण्डाको कालिगण्डकी अस्पतालमा लगेको र त्यहाँ जिवितै रहेको बताएर चितवन लान भनेपछि भरतपुरको चितवन मेडिकल कलेजमा ल्याईएको स्रोतको दाबी छ । मृतक श्रेष्ठ खसेको सिसि टिभि फुटेजमा १.४३ बजेको समय देखिएको छ भने उनलाई ३.४५ मा चितवन मेडिकल कलेजमा ल्याइएको बताइएको छ । अस्पताल लानासाथ चितवन मेडिकल कलेजले मृत घोषणा गरेपछि उनको शव अहिले भरतपुरको नारायणी सामुदायिक अस्पतालकमा आइस घरमा राखिएको बताइएको छ । तीन दिनका लागि १५ हजार रुपैयाँ बुझाएर शव त्यहाँ राखिएको बुझिएको छ । 

सिमेन्ट कारखानाले कुनै पनि सुरक्षाका उपकरणबिना नै कर्मचारीलाई काममा लगाउने र यो कोरोनाका महामारीका बेला पनि कुनै पनि सावधानीबिनै काममा खटाउने गरेको कर्मचारीहरुले गुनासो गरेका छन् । २ सयभन्दा बढी मजदुरहरुलाई एकै पटक सामुहिक मेस सञ्चालन गर्ने, एकै ठाउमा बसाउने कुनै पनि सुरक्षा उपकरणको प्रयोगबिनै जोखिमयक्त काममा खटाउने गरेको भन्दै कर्मचारीहरुले पैसाको बलमा कर्मचारी र मजदुरमाथि चरम शोषण गरेको बताएका हुन् । कारखानाले आज मजदुर दिवसका दिन पनि कर्मचारीलाई काममा लगाएको छ । कारखाना सञ्चालकले कर्मचारीहरुको आवाजको कुनै सुनुवाई नगर्ने गरेको कर्मचारीहरु बताउँछन् ।

स्थानीय बासिन्दा होम सुनारले पनि आफ्नो फेसबुकमा कम्पनीको ज्यादती बढी भएको बताएका छन् । 
करखानाले पैसाको बलमा प्रहरी प्रशासनलाई पनि आफ्नो बनाउने र स्थानीय बासिन्दा तथा त्यहाँ कार्यरत कर्मचारीको आवाजको कुनै सुनुवाई नगर्ने गरेको स्थानीयहरुले बताए । मृतकलाई क्षतिपूर्ती दिने विषयमा पटकपटक जनप्रतिनिधिको रोहबरमा छलफल भएपनि निष्कर्षमा पुग्न नसकिएको बताइएको छ । यो कारखानाले उत्पादन गरेको सिमेन्टको गुणस्तरका विषयमा पनि बेला बेलामा विवाद आउने गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस