सिमानामा फसेका २ हजार नेपालीलाई आज स्वदेश ल्याइदै

विहीबार, १८ बैशाख २०७७, १० : ३७
सिमानामा फसेका २ हजार नेपालीलाई आज स्वदेश ल्याइदै

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)  संक्रमणका कारण नेपाल भारत सीमा क्षेत्रमा रोकिएका झण्डै २ हजार नेपाली नागकिरलाई आज स्वदेश प्रवेशको ढोका खुल्ला हुने भएको छ । सरकारले दुई देश बीचको अन्तराष्ट्रिय सीमा गत चैत ७ गते देखि बन्द गर्दै आएको छ ।

यस बीचमा एक दिनका लागि सीमा क्षेत्रवाट प्रवेश खुल्ला गरिएपनि त्यसपछि निरन्तर रोक लाग्दै आएको छ । सीमा नाका बन्द भएपछि विगत एक महिनाभन्दा लामो समयदेखि भारतीय क्षेत्रमै क्वारेन्टाइनमा बस्दै आएका झण्डै २ हजार नेपालीलाई आज स्वदेश ल्याउन लागिएको हो । भारतको पिथौरागढ जिल्लाका विभिन्न स्थानमा नेपालीहरु क्वारेन्टाइनमा बस्दै आएका छन् ।  बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार, पिथौरागढ र नेपालको बैतडी र दार्चुला जिल्लाका अधिकारीबीच भएको सहमति पछि आज उनीहरुले नेपाल प्रवेश गर्न पाउन लागेका हुन् ।

झुलाघाट नाकाबाट ८ सय ३७ र धार्चुला नाकाबाट १ हजार ६१ जना मानिस आज स्वदेश फर्कने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । यी दुवै सीमा नाका आज एक दिनका लागि मात्रै खुला गर्न लागिएको हो । मजदुरहरुलाई स्वदेश ल्याउँदा सीमामा ज्वरो मापनलगायतका स्वाथ्य परीक्षण गरिने र त्यसपछि उनीहरुलाई क्वारेन्टाइनमा बस्नका लागि पठाइने पौडेलले बताए ।

सीमाबाट फर्केका नागरिकहरुका लागि प्रत्येक स्थानीय तहमा एक सय बेडका क्वारेन्टाइन निर्माण गरेको र स्वदेश ल्याएपछि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने सर्तका आधारमा मात्र स्वदेश भित्राउन लागिएको पौडेलको भनाई छ । उनीहरुलाई स्वदेश फर्केपछि १४ दिन क्वारेन्टाइनमा राख्ने र त्यसपछि ¥यापिड टेष्ट गरेर मात्र संक्रमण नदेखिए घर पठाइने गरी स्वदेश ल्याउन लागिएको पौडेलले बताए ।

सीमा क्षेत्रमा नेपालीहरु अलपत्र परेको र भारतीय क्षेत्रको क्वारेनटाइनमा खाने बस्ने ब्यवस्था राम्रो नभएको बेला वखत टिप्पणी आउन थालेपछि सीमा क्षेत्रमा अलपत्र नेपालीहरुको बारेमा राष्ट्रिय मानव अधिकार आयोग लगायतले सरकारको ध्यानाकर्षण गराउदै आएको थियो । सोही कारण पनि आज एक दिन नाका खुल्ला गरी त्यहा रहेका नेपालीलाई स्वदेश ल्याउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस