कोरोना भाइरस विरुद्धको औषधी पत्ता लाग्यो, मानिसमा गरिएको परिक्षण प्रभावकारी

विहीबार, १८ बैशाख २०७७, ०९ : ०९
कोरोना भाइरस विरुद्धको औषधी पत्ता लाग्यो, मानिसमा गरिएको परिक्षण प्रभावकारी

एजेन्सी । विश्वलाई नै आक्रान्त बनाईरहेको कोरोना भाइरसको उपचारमा प्रयोग हुने औषधी निर्माण गरेर परिक्षण गर्दा नतिजा सकारात्मक देखिएको छ । अमेरिकी बायोफर्मास्युटिकल कम्पनी (औषधि उत्पादक) गिलियाड साइन्सेजले उत्पादन गरेको एन्टिभाइरल औषधि रेमडिसिभिरले कोरोना भाइरसका संक्रमितको उपचारमा सकारात्मक काम गरेको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । 

कोरोना भाइरसबाट संक्रमित भएका बिरामीलाई भाइरससँग लड्नका लागि सो औषधिले सहयोग गरेको  देखिएको विज्ञले बताएका छन् । गिलियाडले उत्पादन गरेको औषधिको प्रयोग गर्दा संक्रमित चाँडो निको हुने गरेको देखिएको हो । सो औषधिको मानवीय परीक्षणमा अति सकारात्मक प्रभाव देखिएको बताए पनि त्यसको विस्तृत तथ्यांक भने सार्वजनिक गरिएको छैन ।

विज्ञले गिलियाडले उत्पादन गरेको औषधिले कोरोना भाइरसविरुद्धको युद्धमा केही आश जगाएको भए पनि कोभिड–१९ का लागि ‘म्याजिक बुलेट’ भने नहुने स्पष्ट पारेका छन् । सो औषधिले संक्रमितको जीवन रक्षा गर्न, बिरामीको अस्पताल बसाई कम गरी अस्पतालमा चाप कम गर्न तथा अहिले लागु गरिएको लकडाउन खुकुलो पार्न भने सहयोग गर्ने देखिएको छ ।

गिलियाडले रेमडिसिभिर इबोलाको उपचारका लागि उत्पादन गरेको औषधि हो । यो औषधिले मानव शरीरमा प्रवेश गरेपछि भाइरलाई फैलिनका लागि चाहिने इन्जाइममा आक्रमण गर्छ, जसबाट भाइरस शरीरमा बिस्तार हुन पाउँदैन । यो औषधिको मानवीय परीक्षण अमेरिकाको नेशनल इन्स्टिच्युड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिज (एनआइएआइडी) ले गरेको हो । सो परीक्षणमा १ हजार ६३ जनाको सहभागिता थियो ।

केही बिरामीलाई औषधि दिइएको थियो भने केहीलाई प्लासेबो (कोभिड–१९ का बिरामीलाई गरिँदै आएको हालको अस्थायी उपचार विधि) गरिएको थियो । एनआइएआइडीका प्रमुख डा. एन्थोनी फाउचीले भनेका छन्, ‘तथ्यांक हेर्दा गिलियाडले उत्पादन गरेको औषधिको प्रभाव स्पष्ट र महत्वपूर्ण छ, जसबाट संक्रमितलाई निको हुन लाग्ने समय छोटिएको छ ।’

उनले अघि भने, ‘परीक्षणको नतिजाबाट यो स्पष्ट भएको छ कि औषधिले कोरोना भाइरसलाई फैलिनबाट रोक्छ । यसबाट बिरामीलाई उपचार गर्न सकिने क्षमता तर्फ हामी अघि बढ्न सक्ने मार्ग खुला भएको छ ।’ तर गिलियाडको औषधिको प्रयोगबाट संक्रमितको मृत्युदर कम हुने वा नहुने भन्नेमा स्पष्ट जानकारी आएको छैन ।