स्वास्थ्य परीक्षणमा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन

रासस

बुधबार, १७ बैशाख २०७७, २० : ३६
स्वास्थ्य परीक्षणमा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन

फाईल फोटो

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भारतबाट मालसामान लिएर आउने गाडीका चालक तथा सहचालकको स्वास्थ्य परीक्षणलाई थप चुस्त पार्नुपर्ने बताउनुभएको छ । आज काठाडौँमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा मन्त्री थापाले सुरक्षा व्यवस्था चुस्त पार्न र लकडाउनलाई पूर्ण कार्यान्वयन गराउन निर्देशन दिनुभयो ।

बैठकमा कोरोना सङ्क्रमण र सुरक्षा स्थितिको बारेमा हालसम्म भए गरेका गतिविधिको बारेमा समीक्षा भएको थियो । सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीले हालसम्मको अवस्थाबारे गृहमन्त्री थापालाई जानकारी गराउनुभएको थियो । बैठकमा गृहमन्त्री थापाले मुलुकमा अपनाइएको उपयुक्त रणनीतिका कारण कोरोनालाई जित्दै गएको दाबी गर्दै दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

“वर्तमान परिस्थितिमा विश्वव्यापी रणनीतिसँग तालमेल गर्दै जानुपर्ने आवश्यकता छ, कोभिड–१९ तीन÷चार वर्षसम्म पनि जान सक्छ, त्यसैले हाम्रो रणनीति दीर्घकालीन योजनाका साथ आउनुपर्छ”, निर्देशनका क्रममा गृहमन्त्री थापाले भन्नुभयो । उहाँले कोभिड–१९ बाट प्रभावित भएको उद्योग, व्यापार उकास्न अझै नयाँ योजनाको खाँचो रहेको औँल्याउनुभयो । 

सशस्त्रको सुरक्षाको चौकीलाई स्थायी बनाउनुपर्ने 
गृहमन्त्री थापाले अहिले दक्षिणी नाकामा कोभिड–१९ को जोखिम बढेपछि थप सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी गराउँदै थपिएको सशस्त्रको अस्थायी चौकीलाई स्थायी बनाउनुपर्ने उल्लेख गर्नुभयो । यसका लागि गृह मन्त्रालयले आवश्यक भूमिका खेल्ने उहाँको भनाइ थियो । 

गृहमन्त्री थापाको पहलमा अघिल्लो महिना १२२ वटा रहेको सशस्त्र प्रहरीको सीमा निगरानी चौकीलाई बढाएर हाल एक हजार २१३ पु¥याइएको छ । सीमावर्ती क्षेत्रमा १४ हजार सशस्त्र प्रहरीको फौज रहेकामा अहिले २२ हजार ५०० पु¥याइएको छ । छलफलका क्रममा मन्त्री थापाले सशस्त्र प्रहरीको भूमिका अझै बढाउनुपर्नेमा जोड दिनुभयो ।

लकडाउनलाई थप कडाइका साथ पालनामा गराउनका लागि सबै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उहाँले बाढी, पहिरो, भूक्षयको नियन्त्रण र रोकथामका लागि तयारीमा लाग्नसमेत आग्रह गर्नुभयो ।  सामाजिक अपराध, घरेलु हिंसा आत्महत्यालगायत आपराधिक क्रियाकलाप नियन्त्रणमा ध्यान दिनसमेत उहाँले सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो । 

प्रतिक्रिया दिनुहोस