पुरातनवादी मुस्लिम परिवारमा जन्मिएका इरफान : क्रिकेटर बन्न चाहने उनी यसरी बनेका थिए अभिनेता

बुधबार, १७ बैशाख २०७७, १५ : ५७
पुरातनवादी मुस्लिम परिवारमा जन्मिएका इरफान : क्रिकेटर बन्न चाहने उनी यसरी बनेका थिए अभिनेता

एजेन्सी । राजस्थानको जयपुर शहरस्थित एक सामान्य परिवारबाट एक असामान्य बालकको जिन्दगी अघि बढ्छ । पुरातनवादी मुस्लिम परिवारमा ७ जनवरी १९६७ मा जन्मिएका थिए, सहाबजादे इरफान अली खान । यो पठान परिवार बन्दुक बोक्न र शिकार खेल्नमा गर्ब गथ्र्यों । कलाकार र खेलाडीका लागि यो परिवारमा कुनै सम्मान  थिएन । उनका बाबु शिकारमा जाँदा आफ्ना छोराछोरीलाई पनि लैजान्थे । इरफानलाई बाबुसँगै जान रमाइलो लाग्थ्यो, जंगलको रहस्यमय यात्रा र प्रकृतिको रसपान त्यतिबेला खल्लो हुन्थ्यों, जब ड्याङ ड्याङ बन्दूक पड्किएको आवाज आउँथ्यो । शिकार ढलेपछि आफ्ना भाई बहिनीसँगै रुँदै इरफान सोच्थे– ‘यी जंगली जनावरको परिवार कहाँ होला । उनकी आमा कता होलिन् ?’

अनि एकाएक सन्नाटा छाउँथ्यो । इरफानका बाबु र आमाको स्वभाव फरक थियो । बाबु शिकारमा जानुअघि हरेकपल्ट आमाले रोक्थिन् र यही कुराले विवाद हुन्थ्यो । इरफान आफ्ना बाबुले सोचेभन्दा फरक थिए, उनलाई जनावर मारेको मन पर्दैन थियो र पठान परिवारमा जन्मिए पनि उनलाई मासुको गन्ध मन परेन । त्यसैले त उनका बाबु भन्थे,‘पठानको घरमा ब्राम्हण पो पैदा भयो ।’

जनावरसँग सानैदेखि इरफानको भावनात्मक कनेक्सन थियो, अनि आफ्नी आमासँग पनि । राइफल चलाउन सिकेपनि उनले शिकार कहिल्यै गरेनन् । इरफान भन्छन्, ‘मेरी आमा नरम स्वभावकी थिइन् र हामीलाई भावनात्मक कथाहरु सुनाउँथिन् ।’

इरफानका बाबु टायरको व्यापार गर्थे र छोरा व्यापारी होस् भन्ने चाहना थियो । तर, इरफान क्रिकेटर बन्न चाहन्थे । भारतलाई विश्वकप जिताउने उनको सपना थियो । त्यसैले स्कुल छाडेर क्रिकेट खेल्न जान्थे । उनी २३ वर्षमुनिका उदयीमान खेलाडीहरुको प्रतियोगितमा भाग लिएर नायडु ट्रफीका लागि समेत छनोट भएका थिए, यो प्रतियोगिता भारतमा फस्र्ट क्लब क्रिकेटका लागि कोशेढुंगा मानिन्छ । तर, परिवारको सहयोग थिएन । त्यसैले तयारीका लागि आवश्यक पैसा जुटाउन नसक्दा इरफानको सपना तुहियो । 

इरफान कलेज पढ्दा अत्यधिक सिनेमा हेर्थे । उनी मिथुन चक्रावर्ती र नसुरुद्दिन शाहको अभिनयबाट प्रभावित थिए । साथीभाईले पनि भनिदिन्थ्यें– ‘इरफानको लुक्स मिथुनसँग मिल्छ ।’ अनि, मिथुनको जस्तै हेयरस्टाइल बनाउन उनले निकै कसरत गरे । तर, कहिल्यै त्यस्तो बनेन ।  जयपुरबाट पढाई सकेपछि १९८४ मा (एनएसडी) नेशनल स्कुल अफ ड्रामामा अभिनय प्रशिक्षणका लागि प्रवेश परीक्षा दिन उनी नयाँ दिल्ली आए । यतिबेला एनएसडीमा प्रवेश सहज थिएन । तर, इरफानको ओजनदार अभिनय देखेर प्रभावित भएका निर्णायकहरुले उनलाई भर्ना लिने भए । कम्तिमा १० वटा नाटकमा अभिनय गरेको कागज पनि देखाउनुपर्ने थियो । इरफानले कहीं कतै अभिनय गरेका थिएनन् , तर उनीसँग नक्कली कागजात थियो र यसैलाई आधार मानेर एनएसडीले भर्ना लियो । 

इरफानको अभिनय कौशल देखेरै एनएसडीले उनलाई छात्रवृत्ति पनि दियो । बाबुलाई इरफानको रोजाई मनपर्ने कुरै थिएन, तर छोराले छात्रवृत्ति पाएकाले धेरै दुःखी पनि थिएनन् ।  यही क्रममा अचानक बाबुको निधन भएपछि कलाकार बन्ने सपनामा पनि झन्डै ग्रहण लाग्यो । घरबाट कहिलेकाँही पैसा आउने बाटो पनि बन्द भयो । उनलाई आफ्नो खर्च चलाउनै मुस्किल थियो । छात्रवृत्ति र छोटा–छोटा नाटक खेलेर कमाएको रकमले बल्लतल्ल पढाई सके । 
एनएसडिबाट पास आउट भएपनि अभिनेता बन्न सहज थिएन । उनले अन्तर्वातामा भनेका छन्, ‘मैले संघर्ष गरिरहेको समय अधिकांशको मान्यता राम्रो अभिनेता बन्नका लागि राम्रै लुक्स चाहिन्छ भन्ने थियो । त्यसैले लुक्स राम्रो नभएको भन्दै मलाई कतिपय टिभी सिरियल र विज्ञापन कम्पनीले रिजेक्ट गरे ।’

तर छिट्टै इरफानले आफ्नो अभिनय कौशलमार्फत यो साबित गर्नेवाला थिए कि अभिनेता हुन राम्रो लुक्स होइन, राम्रो अभिनय चाहिन्छ । उनले करियरको सुरुवातमा चाणक्व, भारतकी खोज, चन्द्रकान्तालगायत टेलिसिरियलमा काम गरे । 

ओस्कारमा छानिएको फिल्म सलाम बम्बेबाट उनको फिल्मी करियर सुरु भएको हो । यस फिल्ममा उनको रोल निकै सानो थियो । यो सानो रोलको कथा भने लामै छ । इरफान एनएसडीमै छँदा फिल्मकी निर्देशक तथा निर्माता मिरा नैरले उनीसँग भेटेकी थिइन् । पहिले इरफानलाई मुख्य कलाकारकै भूमिकामा लिइएको थियो र दुई महिना वर्कशपमा पनि राखियो । तर पछि  उनलाई छोटो भूमिका गर्न भनियो । दुखित भएका इरफानले यतिबेला आफ्नो आँशु थाम्न सकेनन् । 

१९८९ मा कमला की मौत फिल्ममा उनले केही राम्रो भूमिका पाए । अर्को वर्ष एक डाक्टरकी मौत फिल्ममा पनि उनी मुख्य भूमिकामै थिए । तर, यो फिल्मबारे राम्रो प्रतिक्रिया आएपनि  पंकज कपूर र सवाना आज्मीजस्ता धुरन्धर कलाकारसामु इरफानको चर्चा कमै भयो । यसपछि सच अ लङ जर्नी, द गोललगायत फिल्मले इरफानलाई चिनाउने प्रयास गरेपनि उनका अधिकांश फिल्म असफल भए । दशक लामो संघर्षका बाबजुद सफल नभएपछि १९९८ तिर उनले अभिनय छाड्ने विचार पनि गरिसकेका थिए । तर, यही बेला भारतीय मुलका बेलायती निर्देशक आसिफ कपाडियाले ‘द वारियर’ फिल्ममा इरफानलाई रोजे । २००१ मा प्रदर्शनमा आएको यो फिल्म इरफानको करियरको टर्निङ प्वाइन्ट बन्यो । बाफ्टा अवार्डमा यस फिल्मले उत्कृष्ट ब्रिटिश फिल्मको अवार्ड जित्यो, सुरुमा यो फिल्मलाई ओस्कारमा बेलायतको प्रतिनिधित्व गर्ने फिल्मका रुपमा पनि छनोट गरिएको थियो, तर ब्रिटिश आदिवासी भाषाको नभएकाले यसको साटो अर्कै फिल्मलाई पठाइयो । यद्यपि, यो फिल्मले धेरै अन्तर्राष्ट्रिय अवार्ड जित्यो र इरफानलाई विश्वभर चिनायो ।  

यसपछि इरफान अभिनित मकबुल र हासिलले पनि बलिउडमा राम्रो प्रतिक्रिया पाए । सन् २००७ मा रिलिज भएको लाईफ इन अ मेट्रोको सफलताले इरफानलाई बलिउडमा ठूलो सेलिब्रेटीका रुपमा चिनायो । यसपछि उनले स्लम डग मिलेनियर, पान सिंह तोमर, लन्च बक्सलगायत फिल्म खेले । पान सिंह तोमरले उनलाई भारतमा राष्ट्रिय अवार्ड दिलायो । त्यस्तै, स्लम डग मिलेनियरले २००८ मा ओस्कारमा ८ वटा अवार्ड जितेको थियो । ‘लाईफ अफ पाइ’, ‘द अमेजिङ स्पाइडर म्यान’, ‘जुरासिक वल्र्ड’ लगायत थुप्रै सफल हलिउड फिल्ममा उनले अभिनय गरे । 

 २०१८ मा इराफानमा न्युरोइन्डोक्राइन ट्युमर (क्यान्सर) देखिएको थियो । उनी यसको उपचारका लागि झन्डै १ वर्ष लण्डनमा बसे । ‘मलाई मेरी श्रीमती सुतापा सिक्दरले यो अवधिमा धेरै ख्याल गरिन् । उनी सधैं मसँगै रहिन् । म अब उनका लागि के भनुँ, म उनका लागि भएपनि बाँच्न चाहन्छु,’ ईरफानले क्यान्सर जितेपछि गत वर्ष भावूक हुँदै भनेका थिए । सुतापा र इरफान एनएसडीमा एउटै ब्याचमा विद्यार्थी थिए । त्यही बेला सुरु भएको प्रेमलाई उनीहरुले १९९५ मा विवाहमा परिणत गरेका थिए । यो जोडीका दुई छोरा बाबिल र आयन छन् । 

यसै वर्ष असिम छाव्राले ‘इरफान खान– द म्यान, द ड्रिमर, द स्टार’ पुस्तक सार्वजनिक गरेका थिए । यो पुस्तक इरफानको जीवनी हो । तर, लेखकले इरफान नभएर उनलाई चिन्ने अन्य व्यक्तिसँग कुराकानी गरेका छन् किनकी यो पुस्तक लेख्ने तयारी हुँदै गर्दा इरफान लण्डनमा अस्पतालमा थिए । सशी कपूर र प्रियंका चोपडाको बायोग्राफी समेत लेखिसकेका छाव्रा इरफानबारे भन्छन्, ‘दुई भारतीय सेलिब्रेटीको आत्मकथा लेखेपछि म त्यस्तो पात्रको खोजीमा थिएँ जो रोमाञ्चक होस् । इरफानले आफ्नो जीवनमा धेरै संघर्ष गरेका छन् । त्यस्तै,उनी हलिउडमा बलिउडका दूत सरह हुन् ।’ 

इरफान अभिनित पछिल्लो फिल्म ‘अंग्रेजी मिडियम’ १३ मार्चमा प्रदर्शन भएको थियो, तर २५ मार्चयता भारतमा लकडाउन भएकाले यो फिल्म धेरै समय हलमा चल्न पाएन । त्यसपछि अनलाईनमार्फत निर्माताले यो फिल्म सार्वजनिक गरेका थिए ।  चार दिनअघि इरफानकी आमाको राजस्थानमा निधन भएको थियो । मुम्बईमा रहेका इरफान लकडाउनका कारण अन्त्येष्टीमा जान पाएनन् । भिडियो कलमार्फत आमाको अन्त्येष्टी नियालेका इरफान निकै रोएका थिए । 

मंगलबार उनी बाथरुममै लडे । अस्पताल लगेर निरन्तर उपचार गरेपनि उनलाई चिकित्सकहरुले बचाउन सकेनन् । ५३ वर्षको उमेरमा सारा समर्थकलाई रुवाएर इरफानले यो संसार छाडे । बलिउड हस्ती अमिताभ बच्चनले ट्वीटरमा लेखेका छन्, ‘यो निकै दुःखद् र हैरान बनाउने खबर हो । उनी अद्भूत प्रतिभा र दयालु मनका सहकर्मी थिए । विश्व सिनेमाका सिर्जनशील योगदानकर्ता, चाडैं हामीलाई छाडे...।  ठूलो रिक्तता सिर्जना भएको छ ।’ अलविदा इरफान ।

प्रतिक्रिया दिनुहोस