समाजवादीका नेताले हुल बाधेर भेटे 'दाहाल–नेपाल'

मंगलबार, १६ बैशाख २०७७, ०९ : २४
समाजवादीका नेताले हुल बाधेर भेटे 'दाहाल–नेपाल'

काठमाडौं । राष्ट्रिय जनता पार्टीसँग पार्टी एकता घोषणा गरेको समाजवादी पार्टीका नेताहरुले नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसँग भेट गरेका छन् ।

सोमबार उनीहरुले पहिले दाहाल सँग खुमलटार निवासमा र त्यसपछि वरिष्ठ नेता नेपालसँग कोटेश्वरस्थित निवासमा भेटवार्ता गरेका हुन् । प्रचण्ड र नेपालसँगको भेटमा समाजवादीका नेताहरु डा. बाबुराम भटटराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

काँग्रेस केन्द्रीय कार्यालयमा विपक्षी दलको बैठकमा सहभागी भएपछि उनीहरुले राजनीतिक भेटघाट तिव्र वनाएका हुन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसेर निकृष्ट ढंगले आफनो पार्टी विभाजनका लागि खेल खेलेको र त्यसका लागि आफ्ना सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट सेवानिवृत्त प्रहरी महानिरीक्षक देखि सांसदहरु महेश बस्नेत र किसन श्रेष्ठ सम्मलाई प्रयोग गरेपछि समाजवादीका नेताहरु अपहरणमा संलग्नलाई कारवाही गर्नुपर्ने अडानमा छ ।

त्यसका लागि प्रहरी कार्यलयमा उजुरी दिन जाँदा समेत प्रधानमन्त्री कार्यालयको हस्तक्षेपका आधारमा निवेदन नै काठमाडौं जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न नमाने पछि नेताहरुले नेकपा नेताहरुसँग भेटघाट थालेका हुन् । त्यही क्रममा उनीहरुले प्रचण्ड देखि माधव नेपालसम्म सोमबार भेटवार्ता गरेका हुन् ।

नेकपाकै सांसद महेश बस्नेत र किसान श्रेष्ठ अपराधमा संलग्न रहेको भन्दै उनीहरुलाई प्रधानमन्त्री ओलीले कारवाही गर्नुको साटो जोगाउन लागिपरेको आरोप भट्टराईहरुको छ । जसकाकारण पनि उनीहरुले नेकपाकै नेताहरुलाई भेटेर दबाब वढाउन खोजेका हन् । त्यसक्रममा ओलीविरुद्ध मोर्चा वन्दी गरिरहेका प्रचण्ड र नेपालबाट उनीहरुले आफनो भेटघाट थालेका हुन् ।