कोरोना विशेष अस्पतालको हाल सम्मको खर्च अनुमोदन, सहयोग गर्नुहुने सबैलाइ धन्यवाद ज्ञापन

सोमबार, १५ बैशाख २०७७, १७ : ४१
कोरोना विशेष अस्पतालको  हाल सम्मको खर्च अनुमोदन, सहयोग गर्नुहुने सबैलाइ धन्यवाद ज्ञापन

File Photo

चितवन । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न, संक्रमित एवं शंकास्पद बिरामीको उपचार गर्न भरतपुर महानगरपालिका १० मा स्थापना गरिएको कोरोना विशेष अस्थायी अस्पतालको चैत महिनाको खर्च सवा करोड भएको छ ।

भरतपुर कोरोना नियन्त्रण कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीले सोमबार प्रेस विज्ञप्ति जारी गर्र्दै यस्तो खर्च विवरण उपलब्ध गराउनु भएकाे हाे । डा. अधिकारीबाट प्रस्तुत खर्च विवरण कार्यदलकाे आज सम्पन्न समीक्षात्मक बैठकले अनुमाेदन गरेकाे छ । कार्यदल संयाेजक रेनु दाहालले सबैलाइ धन्यवाद ज्ञापन गर्दै महानगरकाे अगुवाइमा भएकाे काेराेनाविरुद्धकाे लडाइँ अझै जारी रहेकाे  बताउनु भयाे ।

डा. अधिकारीबाट जारी विज्ञप्तिमा भनिएको छ, कोभिड १९ रोगको उपचार तथा नियन्त्रणको क्रममा सहयोग पुर्याउनु हुने कोरोना कार्यदलका सदस्यहरु, विभिन्न उपसमितिमा रही काम गर्नुभएका साथीहरु, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, संचारकर्मीहरु, सुरक्षानिकाय, सम्पूर्ण निजी एवं सरकारी स्वास्थ्य संस्था, विभिन्न किसिमका स्वास्थ्य सामग्री प्रदान गर्नुहुने दाताका साथै बन्दाबन्दीको पूर्ण पालना गरी कोरोनासँग लड्न हौसला प्रदान गर्नुहुने आदरणीय नगरवासीहरुलाई पुनः धन्यवाद दिँदै आउँदा दिनहरुमा पनि यहाँहरुको रचनात्मक साथ र सहयोगको अपेक्षा गर्दछु ।

विश्वव्यापी महामारीका रुपमा मानव सभ्यतालाई नै चुनौती दिएको कोरोना भाइरसका कारण विश्वमा करीब ३० लाख मानिस संक्रमित भएका र करीब २ लाख ७ हजार मानिसको मृत्यु भइसकेको छ । नेपाल पनि यस भाइरसबाट मुक्त छैन । नेपालमा आजका मितिसम्म ५२ जनामा संक्रमण देखिएको छ भने १६ जना निको भइ घर फर्केका छन् । छिमेकी देश भारतमा यसको संक्रमण बढ्दै जाँदा नेपाललाई चुनौती थपिएको छ । यस सन्दर्भमा, यसको रोकथामको लागि सचेतना, रोकथामका उपायको अवलम्बन र प्रभावकारी उपचारका विधिहरु अपनाउनु जरुरी छ ।

भरतपुर महानगरपालिकाले यस भाइरसको सामना गर्नका लागि शुरुवातदेखि नै प्रभावकारी कदमहरु चालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७६।११।२८ गतेको पत्रानुसार नगर प्रमुखको संयोजकत्वमा स्थानीय समन्वय समितिको गठन, स्थानीय समन्वय समितिको निर्णयअनुसार नगर प्रमुखकै संयोजकत्वमा कोरोना भाइरसबाट उत्पन्न हुने रोगको नियन्त्रणका लागि कार्यदलको गठन, कार्यदलको निर्णयअनुसार नेपालमा र विशेषगरी भरतपुरमा यसको उचित व्यवस्थापन गर्न ७२ घण्टामा भरतपुर कोरोना विशेष (अस्थाई) अस्पतालको स्थापना, कोरोना भाइरस निदानका लागि PCR प्रयोगशालाको स्थापना, स्थानीय स्वास्थ्य संस्थाबाट हालसम्म १८३ जनाको RDT  परिक्षण, स्वास्थ्य सामग्री (PPE, मास्क पन्जा आदि) को व्यवस्था र स्वास्थ्यकर्मीको व्यवस्था लगायतका कार्य भएका छन् । हालसम्म भरतपुर कोरोना विशेष (अस्थाई) अस्पतालबाट ७ सय जनाभन्दा बढीको उपचार भैसकेको छ भने कोरोना भाइरस निदानका लागि स्थापित PCR प्रयोगशालाबाट ३५५ जनाको परिक्षण भएको छ ।

कोरोना भाइरस हाम्रो देशमा नियन्त्रण नै गर्न नसकिने गरी बढेको त छैन तर यसको संक्रमणको डर समाप्त भने भएको छैन । आउँदा दिन अझै चुनौतीपूर्ण छन् । यसको प्रकोप विश्वव्यापी रुपमा समाप्त नभएसम्म कोरोना विशेष (अस्थाई) अस्पतालको संचालन र आइसोलेशन र क्वारेन्टाइनको व्यवस्थालाई थप विस्तारित र व्यवस्थित गर्दै लैजानु पर्नेछ । कार्यदल यस कार्यमा निरन्तर लागेको छ । हामीलाई यहाँसम्म आइपुग्दा सबैतर्फबाट रचनात्मक सहयोग र साथ प्राप्त भएको छ। यो महासंकटसँग जुध्न चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा दानवीर सामाजिक संघ-संस्था, निजी क्षेत्रका साथै सम्पूर्ण आदरणीय महानुभावहरुले श्रम, सीप तथा आवश्यक स्वास्थ्य सामग्रीहरु कोरोना नियन्त्रण कार्यदलमार्फत् उपलब्ध गराएर ठूलो सहयोग पु-याउनु भएको छ । एकीकृत सेवाका रूपमा यसलाई दीर्घकालसम्म उपलब्ध जनशक्तिको उपयोग गरी अझ प्रभावकारी रुपमा संचालन गर्न कोरोना विशेष अस्पताललाई महानगर र भरतपुर अस्पतालबीच संझौता गरी भरतपुर अस्पताल मातहत संचालन गर्ने गरी व्यवस्थापन हस्तान्तरणसमेत भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस