अपहरणको मुद्दा दर्ता गर्न जसपाका नेताहरु प्रहरी कार्यालयमा

आइतबार, १४ बैशाख २०७७, १५ : ४०
अपहरणको मुद्दा दर्ता गर्न जसपाका नेताहरु प्रहरी कार्यालयमा

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेताहरू पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी दिन काठमाडौं प्रहरी परिसर पुगेका छन् ।  

आफ्ना सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै प्रहरीमा जाहेरी दिन लागेका हुन् । खनालसहित बस्नेत र श्रेष्ठमाथि तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको जसपाले आरोप लगाएको छ ।

जसपा, नेपालका नेता डा बाबुराम भट्टराई, उपेन्द्रलगायत, उजुरी दिन आइतबार परिसर पुगेका हुन् । अपहरणमा परेका भनिएका यादव पनि सँगै प्रहरी परिसर पुगेका छन् । यस्तै नेताहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, हिसिला यमीलगायत पनि देखिएका छन् । 

गत बुधबार महोत्तरीस्थित घरमै रहेका यादवलाई उनीहरुले काठमाडौं ल्याएका थिए भने त्यसको भोलिपल्ट यादव होटल मेरियटबाट भागेर पार्टीको सम्पर्कमा पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस