सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जसपाले प्रहरीमा जाहेरी दिने

आइतबार, १४ बैशाख २०७७, १३ : २९
सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जसपाले प्रहरीमा जाहेरी दिने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेताहरूले आफ्ना सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै प्रहरीमा जाहेरी दिने भएका छन् । 

पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका सुरेन्द्र यादवलाई पूर्वआइजिपी सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले अपहरण गरेको भन्दै प्रहरीमा जाहेरी दिन लागिएको जनता समाजवादी पार्टीका एक नेताले जानकारी दिए । 

ती नेताका अनुसार जाहेरी दिन समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव टेकु जान लागेका छन् ।

खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याइपुर्‍याएका थिए । 

पूर्वआइजिपी खनाल र पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उनकै योजनाअनुसार काठमाडौं आउन सहजीकरण गरेको दाबी गरेका छन् । सुरेन्द्र यादवले पनि आफू अपहरणमा नपरेको बताएका थिए ।

समाजवादी फुटाउने योजनासहित जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको थियो । 

प्रतिक्रिया दिनुहोस