उच्च सतर्कताले काठमाडौं सुरक्षित

पत्रपत्रिकाबाट

आइतबार, १४ बैशाख २०७७, ०७ : २३
उच्च सतर्कताले काठमाडौं सुरक्षित

काठमाडौँ । सरकार र स्थानीय तहले चालेको प्रभावकारी कदम र उच्च सतर्कताले राजधानी उपत्यका सुरक्षित देखिएको छ । राजधानीका केही स्थानीय तहमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिए पनि नियन्त्रणमा आइसकेको छ । उपत्यकाका ललितपुर र भक्तपुरमा भने अहिलेसम्म सङ्क्रमण देखिएको छैन ।

काठमाडौँ जिल्ला समन्वय समितिले सरकार, मातहतका निकाय, स्थानीय तह लगायतको संयुक्त प्रयासबाट राजधानीमा कोरोना नियन्त्रणमा आएको स्पष्ट पारेको छ । स्थानीय तहका जनप्रतिनिधि लगायतका सरोकारवालाले उच्च सतर्कता अपनाएकाले कोरोना सङ्क्रमण फैलिन नपाएको हो । गत दुई हप्ताअघि कागेश्वरी मनोहरा नगरपालिकामा वडा नं. ९ स्थित सनसिटी अपार्टमेन्टका दुई जनाको पीसीआर पोजेटिभ देखिएको थियो । तर दुवै जना अहिले उपचारपछि घर फर्किसकेका छन् ।

काठमाडौँका ११ वटा स्थानीय तहमा कुल दुई हजार २२६ जनाको आरडीटी परीक्षण गरिएकोमा दुई हजार २२२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा तीन जनाको आरडीटी पोजेटिभ र बूूढानीलकण्ठ नगरपालिकामा एक जनाको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ र पीसीआर नेगेटिभ आएको हो । यहाँका ११ वटै स्थानीय तहले गत फागुन ३० देखि विदेशबाट आएका र उनीहरूको सम्पर्कमा रहेका व्यक्तिको समेत आरडीटी परीक्षण गरेको काठमाडौँ जिल्ला समन्वय समितिले जनाएको छ  ।

काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले जिससले सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) गठन गरी जिल्लाभित्र कोरोना भाइरस सङ्क्रमण फैलिन नदिने कार्य र बन्दाबन्दीबाट प्रभावित नागरिकको सम्पूर्ण विवरण सङ्कलनलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।

काठमाडौँभित्र करिब दुई हजार २२५ जनाको आरडीटी र पीसीआर परीक्षण गरिए पनि यो सङ्ख्या कम भएको बताउँदै उहाँले भन्नुभयो, “कोरोना भाइरसको परीक्षण गर्ने कार्यलाई थप तीव्रता दिनुपर्छ ।” उहाँका अनुसार काठमाडौँ जिल्ला भित्रिने सबै नाकामा सम्बन्धित नगरपालिकाले अहिले उच्च निगरानी गर्ने गरेका छन् । काठमाडौँ राजधानी भएकाले उपचारलगायत विभिन्न कामले अहिले पनि दैनिक हजारभन्दा बढी मानिस भित्रिने गरेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।