लकडाउनसँगै निकुञ्ज सुरक्षामा चुनौती

शनिबार, १३ बैशाख २०७७, १८ : २८
लकडाउनसँगै निकुञ्ज सुरक्षामा चुनौती

चितवन । बन्दाबन्दीसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ । शहरी क्षेत्र लकडाउनले ठप्प भएपछि विभिन्न बहानामा मानिस निकुञ्ज प्रवेश गर्ने क्रम बढेपछि सुरक्षामा चुनौती थपिएको हो । 

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार गत चैत ११ गते लकडाउन शुरु भएयता निकुञ्जमा विभिन्न तवरबाट प्रवेश गर्नेको सङ्ख्या निकै बढेको छ । यस अवधिमा ४४३ जनालाई पक्राउ गरी आवश्यक कारवाही भइरहेको उहाँले जानकारी दिनुभयो । 

नदीमा गोहीले फुल पार्ने बेला भएकाले फागुनदेखि असार मसान्तसम्म माछा मार्न पाइँदैन । तर यस अवधिमा तिहारी र हाते जाल प्रयोग गर्ने २२६ जना पक्राउ परेका छन् । घाँस, दाउरा गर्न गएका २०६ जना पक्राउ परेका छन् । निकुञ्जले दिएको जानकारीअनुसार वन्यजन्तु चोरी शिकारको एउटा घटनामा आठ जना पक्राउ परेका हुन् । 

    उनीहरुले चित्तल मारेको आरोप निकुञ्जको छ । काठ चोरीनिकासी गरेकामा तीन जना पक्राउ परेका छन् । कोरोना भाइरसका कारण पक्राउ परेकालाई तत्काल अनुसन्धान गरी हाजिरी तारेखमा छाडिएको उप्रेतीले जानकारी दिनुभयो । हाल हिरासतमा एक जना मात्र रहेका छन् । यसै अवधिमा एउटा घडियाल गोही तिहारी जालमा परेर मरेको छ । निकुञ्जमा चोरी सिकारी बढेपछि चुरे केन्द्रित तीन दिनको गस्ती गरिएको छ । 

    उप्रेतीका अनुसार पूर्वको सुनाचुरीदेखि पश्चिमको त्रिवेणीसम्म सात वटा स्थानबाट स्विफ्ट शल्यक्रिया गरिएको हो । अनाधिकृतरुपमा प्रवेश गरेको नपाइएको उहाँले जानकारी दिनुभयो । यस्तै निकुञ्ज हुँदै बग्ने नदीमा डुङ्गा र पैदल गस्ती गरिएको छ । निकुञ्जका भित्री भागमा क्याम्पिङ, स्विपिङ र हात्तीबाट छुट्टाछुट्टै गस्ती भइरहेको छ । 

    लकडाउनका कारण मानिसको प्रवेश बढेसँगै मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्ने देखिएको छ । यस अवधिमा निकुञ्ज भित्र गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने बाघले एक र बँदेलले तीन जनालाई घाइते बनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती निकुञ्जमा अनाधिकृत प्रबेश बढेसँगै चोरी तस्करीका गिरोह उनीहरुसँगै प्रवेश गर्न सक्ने भएकाले जोखिम बढेको बताउनुहुन्छ । अरुबेला निकुञ्जमा पर्यटकको चहलपहल हुने भए पनि अहिले सुनसान भएकाले यस समयमा चोरी सिकारी गर्ने सक्रिय हुनसक्ने भएकाले विशेष खालका गस्तीका कार्यक्रम भइरहेका रुपाखेतीको भनाइ छ । 

    निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारीले संयुक्तरुपमा गस्ती गरिरहेका उहाँले जानकारी दिनुभयो । सुराक सञ्जाललाई व्यवस्थित गरेर निकुञ्जको पूरै भागलाई सुरक्षा दिने काम भइरहेको उहाँले बताउनुभयो । फुर्सद्को समयमा नदीमा पौडी खेल्ने, माछा मार्ने र घाँस दाउरा गर्न जानेसँगै पेशेवर तस्कर पस्नसक्ने भएकाले निकुञ्जले सुरक्षाका रणनीति परिवर्तन गरी काम गरिरहेको जनाएको छ ।(रासस)