आहारा खोस्न समेत पाउँदैनन् देवघाट र बागेश्वरीका बाँदर, ढुङ्गा र माटोले भरिन्छ जनावरकोे पेट ?

शुक्रबार, १२ बैशाख २०७७, १७ : १८
आहारा खोस्न समेत पाउँदैनन् देवघाट र बागेश्वरीका बाँदर, ढुङ्गा र माटोले भरिन्छ जनावरकोे पेट ?

– प्रकाश सिग्देल
चितवन । घुम्न आउने मानिसहरुले दिएको र झुण्डाएर ल्याएको चिज खोसेरै भएपनि खाएर आफ्नो भोकलाई मेटाउने देवघाट र बागेश्वरी आसपासका बाँदरको दिनचर्या यति बेला कति पिडा दायी होला ? न भक्तजन यतिबेला देवघाट गएका छन् नत देवघाटमा भएकाहरुले पनि बाँदरलाई खुवाउने अवस्था छ । 

लकडाउन भएको एक महिना बितिसक्यो, बाँदर र कुकुर बोल्न सक्दैनन् यिनले अरु सामान्य समयमा घुम्न आएका मानिसले दिएर खान्थे । लकडाउनपछि यीनको पनि पीडाका दिन सुरु भएको बताउँछन् पशु अधिकारकर्मी ।

मानिसका नजिकका मित्र मानिएका घरपालुवा पशु, मन्दिर परिसरमा रहेका कुुकुर, बाँदर तथा अन्य चौपाया भने लकडाउनको समयमा भोकभोकै रहेका छन् ।

देवघाट र बागेश्वरी आसपासको क्षेत्रमा मानवीय चहलपहल कम भएपछि त्यहाँ जनावर तथा  चौपाया भोकै रहेको युवा उद्यमी चन्दन अग्रवालले बताउनु भयो । बागेश्वरीमा घुम्दै जाँदा त्यहाँ बाँदरहरुले भोकले मान्छे माथि नै आक्रमण गर्ने स्थिति आफूले देखेपनि हरेक दिन समय मिलाएर आफूले खानेकुरा लगेर छरिदिने गरेको उहाँले बताउनु भयो ।

अहिले लक डाउनले मानिसहरु घरबाट निस्कन नपाएकाले जनावरलाई सहयोग गर्ने चाहना हुनेले पनि सहयोग गर्न नसक्दा समस्या भएको अर्का व्यवसायी रन्जन अग्रवाल बताउनु हुन्छ । देवघाट र बागेश्वरी क्षेत्रका जनावरहरु र बागेश्वरीका गाईहरुको आहारामा समस्या नहोस भनेर आफूहरुले दैनिक जसो दाना पानी र चापटको व्यवस्थापन गरिरहेको अग्रवालको भनाई छ ।

नारायणगढमा व्यवसाय गर्ने माडवाडी समुदायले यतिबेला दैनिक श्रम गरेर खाने मजदुरका साथै पशुपन्छीका लागि पनि खाद्यान्न प्रदान गरिरहेका छन् । ऋद्धिशिद्धि खाद्य भण्डार तथा नौलो पसलले हरेक दिन जसो विभिन्न संघसंस्था, बालगृह, आश्रम तथा गौशालालाई खाद्यान्न लगायत अन्य सहयोग गरिरहेको छ ।  

खाद्यान्नको अभाव भएपछि बाँदर तथा कुकुरहरु आक्रामक हुने र नजिकका घर तथा बस्तीमा समेत प्रवेश गर्ने सम्भावना बढेर गएको देखिएको छ । अहिले खुल्ला जनावरको व्यवस्थापन गर्दै भोक मेटाउने तर्फ विशेष ध्यान दिनुपर्ने अवस्था देखिएकोले स्थानीय निकायहरुले अब जनावरका विषयमा पनि सोच्ने बेला आएको रन्जन अग्रवाल बताउनु हुन्छ ।

आहाराकै कमीले देवघाटमा बाँदरले वृद्धवृद्धाहरुलाई आक्रमण गर्ने स्थिति सृजना हुन थालेको देवघाट क्षेत्र विकास समितिका निर्वतमान अध्यक्ष तथा  विश्व हिन्दू महासंघ नेपाल केन्द्रीय सदस्य टंकनाथ पौडेलले बताउनु भयो । लकडाउनका अरु पशु चौपाएसँगै राष्ट्रिय जनावर गाईको आहारको उचित प्रबन्ध गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भयो । 

अहिले दाताले दिएको सहयोगका भरमा गौशाला सञ्चालन गर्नु परेकाले गौशालामा आहारको अभाव हुन र गाईहरु भोकै मर्नबाट जोगाउन स्थानीय निकायले तत्कालै ध्यान दिनु पर्ने पौडेलको भनाई छ । छिट्टै आहारको व्यवस्था नगरे सांस्कृतिकरूपमा गौमाताका रूपमा पूजिने गाई बचाउन मुस्किल हुने भएकाले सरकारले गम्भीर रुपमा लिनपर्ने उहाँको भनाई छ ।