झिङ्गा भन्काउँदै मनोमानी मूल्यमा मासु बिक्री

रासस

बुधबार, १० बैशाख २०७७, १९ : १७
झिङ्गा भन्काउँदै मनोमानी मूल्यमा मासु बिक्री

फाईल फोटो

काठमाडौं । भक्तपुर नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । विगत तीन दिनदेखि मासु पसलको अनुगमन गर्दै आएको नगरपालिकाले आज पनि विभिन्न ठाउँमा रहेको मासु पसलको अनुगमन गरेको छ । बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सरोकारवालाको सहभागितामा भार्वाचो, टेखापुखु, वंशगोपाल, देगमना र बाराही डोकाफल्चामा रहेका मासु पसल अनुगमन गरिएको हो । 

कोभिड १९ महामारी विश्वमा फैलिरहेको बेलामा बासी तथा अस्वस्थकर मासुको बिक्री भएको गुनासो आएपछि मासुबाट हुनसक्ने सङ्क्रमणलाई रोक्न, पसललाई व्यवस्थित र सफा पार्न, मासु काट्ने औजार, ढक तराजुको सफाइ, सडेगलेका मासु बिक्री रोक लगाउन र मापदण्ड पुगे नपुगेको हेर्न अनुगमन तीव्र पारेको संयोजक गोराले जानकारी दिनुभयो । 

अनुगमनमा हेरानानी शाहीको मासु पसल, बाराही चिकेन सप, छोरी माया शाहीको मासु पसल, मासु संसार, बाराही न्यू कोल्ड स्टोरलगायतमा आज भएको अनुगमनमा मासु पसलमा सुधार नभएको पाइएको छ । मासु पसल दर्ता नवीकरण नगरेको,  मनपरि मूल्य लिएको, मूल्यसूची नराखेको, मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग नगरेको, कतिपय पसलमा मासुमा झिङ्गा भन्किएको पाइएको, जाली नराखेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको, डिजिटल तराजु प्रयोग नगरेको पाइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । 

पटक पटकको अनुगमनले अनुरोध गर्दा पनि सुधार नगर्ने दुई पसलबाट ढक दुई थान अनुगमन समितिले जफत गरेको छ । अनुगमन समितिले दिएको निर्देशन तत्काल पालना गरी सुधार नगरे अर्को अनुगमनमा कडा कारवाही गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस