काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा लागेको बताएका छन् । लेनिन जयन्ती तथा नेकपा स्थापना दिवसको अवसरमा बुधबार दिएको सन्देशमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले पार्टी थप सुदृढ बनाउनका लागि सकारात्मक पहलको खाँचो रहेको उल्लेख गरेका छन् ।
अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार रहेको उल्लेख गरेका छन् ।
पार्टी फुट्ने चिन्ता
प्रधानमन्त्री केपी शर्मा ओलीले दल फुटाउन खुकुलो हुने गरी अध्यादेश ल्याएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको शीर्ष तहमै पार्टी फुट्न सक्ने चिन्ता देखिएको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले एकता प्रक्रियामा गम्भीर विचलन आएको संकेत गरेका छन् ।
कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा नेताहरुले जारी गरेका शुभकामना सन्देशमा पार्टी एकता बिथोल्न विभिन्न प्रयासहरु भइरहेकाले त्यसको सामना गरेर अघि बढ्नुपर्ने उल्लेख छ । सन्देशमा पार्टी एकता बिथोल्न प्रतिक्रियावादीहरु सक्रिय भएको भन्दै चिन्ता समेत व्यक्त गरेको पाइएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि पार्टी एकताको रक्षाका लागि संकल्प गर्न आव्हान गरेका छन् । ‘नेपाल कम्युनिष्ट पार्टीको ७२औं स्थापना दिवसको अवसरमा सबै कमरेडहरुलाई सदा कम्युनिष्ट भईरहन र समाजबाद निर्माणको क्रान्तिकारी उदेश्य पुरा गर्ने प्रकृयामा लागिरहन हार्दिक शुभकामना ब्यक्त गर्दछु।यस क्षणमा पार्टी एकताको रक्षा गर्न र समाजवादउन्मुख समृद्दिको लक्ष हाँसिल गर्न सङ्कल्प गरौं’, प्रवक्ता श्रेष्ठले भनेका छन् ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि अहिलेको महामारीको अवस्थामा दल फुटाउन खुकुलो पार्ने गरी सरकारले ल्याएको अध्यादेशमा असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस