‘अमेरिकाले ६० दिनका लागि ग्रिन कार्ड दिने सेवा बन्द गर्यो’

बुधबार, १० बैशाख २०७७, १० : २०
‘अमेरिकाले ६० दिनका लागि ग्रिन कार्ड दिने सेवा बन्द गर्यो’

एजेन्सी । विश्व व्यापी रुपमै कोरोनाको कहर बढेसंगै विश्वका शक्ति राष्ट्र समेत यसको रोकथाम तथा न्युनिकरणको प्रयासमा लागेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकाले आप्रवासन सम्बन्धी गतिविधिमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन सम्बन्धी गतिविधिमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने आफ्नो घोषणा दुई महिना अर्थात ६० दिनका लागि रहेको स्पष्ट पारेका छन् । यो प्रतिबन्ध अमेरिकामा स्थायी बसोबासको स्वीकृतिको खोजी गर्नेहरुका लागि मात्रै हुने पनि ट्रम्पले बताएका छन् । यो घोषणासंगै ग्रिन कार्ड सम्बन्धी गतिविधि ६० दिनसम्म रोकिने भएको छ ।

सोमबार ट्वीट मार्फत आप्रवासन सम्बन्धी गतिविधि अस्थायी रुपमा रोक्ने घोषणा गरेर त्यसबारे केही जानकारी नदिएका ट्रम्पले मंगलबार त्यसलाई स्पष्ट पारेका हुन् । कोरोना भाइरसका कारण रोजगारी गुमाएका अमेरिकीलाई रोजगारीको अवसर प्रदान गर्नका लागि यस्तो निर्णय लिइएको ट्रम्पले बताएका छन् । अस्थायी आवासको स्वीकृति लिएर कामका लागि अमेरिका प्रवेश गर्नेहरुका लागि भने नयाँ नियम लागु नहुने जनाइएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि आफ्नो प्रशासनले गरेको कमजोर प्रयासबाट ध्यान अनेत्र भड्काउनका लागि ट्रम्पले यस्तो निर्णय लिएको आलोचकको भनाई छ । आप्रवासन जहिले पनि ट्रम्पले पहिलो प्राथमिकताको मुद्दा बन्दै आएको छ ट्रम्पका लागि छ । तर कोरोना भाइरसको महामारीका कारण यो मुद्दा केही ओझेलमा परेको थियो । फेरि उनले यसलाई अघि ल्याएका छन् ।

उनी मुलतः आप्रवासी विरोधी रहँदै आएका छन् । अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण कम्तिमा ४४ हजार ८ सय जना भन्दा बढीको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या ८ लाख २३ हजार ७ सय भन्दा बढी पुगेको छ ।