साना ऋणीलाई अब १ करोडसम्मको कर्जामा १ प्रतिशत ब्याज छुट हुने

सफल खबर संवाददाता

मंगलबार, ०९ बैशाख २०७७, २० : ५९
साना ऋणीलाई अब १ करोडसम्मको कर्जामा १ प्रतिशत ब्याज छुट हुने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले साना उद्योगी, व्यवसायीले लिँदै आएको ऋणको ब्याज घटाएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालमा आवद्ध बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुले आफ्नो सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका साना तथा मझौला उद्योगीहरुलाई अहिले लिँदै आएको ब्याजदरमा १ प्रतिशत विन्दुले घटाउने निर्णय गरेको हो । 

यस्तै, विकास बैंकहरूले ४० लाख रुपैयाँसम्मको र फाइनान्स कम्पनीहरूले २० लाख रुपैयाँसम्मको एसएमई कर्जामा १ प्रतिशत व्याज घटाउने सहमति गरेका छन् । कोरोनाका कारण विषम परिस्थिति निम्तिएपछि बैंक तथा वित्तीय संस्थाहरुको चालु तथा संचालन खर्च उल्लेख्य रुपमा घटाउनको लागि विशेष पहल गर्न लागिएको परिसंघका उपाध्यक्ष तथा प्रवक्ता भोज बहादुर शाहद्वारा प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

त्यस्तै, बैशाख मसान्तसम्म भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक ब्याज भुक्तानी सोही अवधिभित्र भुक्तानी गरेको त्यस्तो ब्याजमा १० प्रतिशत छुट दिने घोषणा समेत परिसंघले गरेको छ । 

बैठकले बैंक तथा वित्तीय संस्थाको चालु खर्च तथा सञ्चालन खर्च घटाउन तथा कोभिड–१९ ले वित्तीय क्षेत्र र समग्र अर्थतन्त्रमा परेको असर अध्ययन गरी सरकारलाई सुझाव दिन कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस