कोरोना जोखिमले यार्सा संकलनमा रोक

पत्रपत्रिकाबाट

मंगलबार, ०९ बैशाख २०७७, ०७ : २८
कोरोना जोखिमले यार्सा संकलनमा रोक

लमजुङ । हिमाली जिल्ला मनाङमा यस वर्ष यार्सागुम्बा संकलनमा रोक लगाइएको छ । कोरोनाभाइरस संक्रमण जोखिम भएसँगै यसवर्ष यार्सा संकलनमा रोक लगाइएको हो । मनाङका संघीय सांसद पोल्देन छेपाङ गुरुङको अध्यक्षतामा जिल्लास्थित सरोकारवालाहरूको बैठकले यार्सा संकलनमा रोक लगाएको हो ।

यार्सा संकलनका लागि बाहिरी जिल्लाबाट हजारौंको संख्यामा मान्छेहरू आउने भएकोले कोभिड–१९ संक्रमणको जोखिम हुने भन्दै रोक लगाइएको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए ।

“यार्सा संकलनका लागि बाहिरी जिल्लाबाट मात्रै पाँच हजारभन्दा बढी आउने गर्छन्,” प्रजिअ पौडेलले भने, “अहिलेको जोखिम परिस्थितिमा मान्छेसँगै रोग आउन सक्ने भएकोले रोक लगाउने सर्वपक्षीय निर्णय गरेका हौं ।”
सांसद गुरुङको अध्यक्षतामा जिल्लाका सवै स्थानीय तहका प्रमुख, सुरक्षा निकाय र सरोकारवालाहरूले छलफल गरी यस्तो निर्णय गरेको प्रजिअ पौडेलले बताए । लकडाउनका कारण घरबाहिर हिँडडुल गर्न र आवतजावतमा समेत रोक लगाइएको अवस्थामा बाहिरी जिल्लाका हजारौ व्यक्तीहरू आउदा भाइरस संक्रमणको झनै जोखिम हुने प्रजिअ पौडेलको भनाइ छ ।

वैसाख महिना सुरु भएसँगै मनाङका उच्च लेकहरूमा यतिबेला बहुमुल्य जडिबुटी यार्सागुम्बा खोज्नेहरूको भिड लाग्ने गर्दछ । मनाङसहित विभिन्न जिल्लाबाट यार्सा संकलकहरू उच्च लेकसम्म पुग्ने गर्दछन् । मनाङका २० भन्दा बढी लेकमा बहुमूल्य जडिवुटी यार्सा संकलन हुने गर्दछ । लेकमा यार्सागुम्बा खोज्न मनाङ सहित रसुवा, धादिङ, गोरखा, लमजुङ लगायतका जिल्लाबाट संकलकहरू मनाङ पुग्ने गर्दछन् ।