दक्षिण भारतमा दश वर्षीय नेपाली बालकमा कोरोना संक्रमण

पत्रपत्रिकाबाट

मंगलबार, ०९ बैशाख २०७७, ०७ : १४
दक्षिण भारतमा दश वर्षीय नेपाली बालकमा कोरोना संक्रमण

नयाँदिल्ली । दक्षिण भारतीय सहर बैंग्लोरमा दश वर्षीय नेपाली बालकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । यी बालकमा एक साताअघि संक्रमण पुष्टि भएको हो । हाल उनको बैंग्लोरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ । र अवस्था सामान्य रहेको बालकका बुवाले कान्तिपुरलाई जानकारी दिएका छन् । 

यसअघि यी बालकका बुवाआमालाई पनि कोरोना भाइरसको संक्रमण भएको थियो । सुदूरपश्चिम बझाङंको चैनपुरी निवासी यो नेपाली परिवार कामको सिलसिलामा भारतमा बस्दै आएको छ । अघिल्लो महिना बालकका ४५ वर्षीय बुवा र ३५ वर्षीया आमामा कोभिड १९ पुष्टि भएको थियो ।

यी महिला एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन् । र, सोही परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बैंग्लोर आएकी थिइन् । दुई दिन घरमा बसेकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

पछि स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उक्त भारतीय परिवारको घरमा काम गर्नेहरु सबैलाई बैंग्लोरकै भिक्टोरिया अस्पतालमा आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गरियो । दुई दिनपछि अएको स्वास्थ्य परीक्षण रिपोर्टमा ती नेपाली महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।