अमेरिकी राष्ट्रपति ट्रम्पको योजना : तीन चरणको योजना सहित लकडाउन चाँडै अन्त्य गर्ने घोषणा

शुक्रबार, ०५ बैशाख २०७७, ०९ : ३८
अमेरिकी राष्ट्रपति ट्रम्पको योजना : तीन चरणको योजना सहित लकडाउन चाँडै अन्त्य गर्ने घोषणा

file Photo

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि  लागु गरिएको लकडाउनका नियमहरु चाँडै अन्त्य गरेर चाँडै देश पुनः सामान्य अवस्था फर्काउने दाबी गरेका छन् । 

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको बिहीबारको ब्रिफिङ्गका क्रममा ट्रम्पले लकडाउन चाँडै अन्त्य गर्ने बताएका हुन् । सबै अमेरिकीहरु कोरोना भाइरसविरुद्ध एकताबद्ध भएर लागेको र रोकथामका उपायहरुले अवस्था अति खराब हुनबाट रोकेको बताए ।

अहिले अमेरिकाका अधिकांश राज्यमा घरमै बस्नु पर्ने नियम लागु भएको छ । ट्रम्पले लकडाउन दीर्घकालीन उपाय नरहेको बताउँदै सामान्य गतिविधि पुनः सञ्चालन गर्ने सम्बन्धी योजना पनि सार्वजनिक गरेका छन् । हरेक राज्यको अवस्था फरक रहेको बताएका ट्रम्पले केही राज्यको लकडाउन चाँडै अन्त्य हुने र केहीको भने अझै समय लाग्ने संकेत गरे ।

उनले राज्यका गभर्नरहरुलाई गर्न चाहेका कुरा अति तीव्र गतिमा गर्न भनेका छन् । यसैगरी छिमेकी राज्यहरुसँग मिलेर काम गर्न पनि आग्रह गरेका छन् । यो हप्ताको सुरुमा ट्रम्पले लकडाउन अन्त्य गर्ने अन्तिम अधिकार गभर्नरसँग नभइर आफूसँग रहेको बताएका थिए । त्यसपछि गभर्नरहरु आक्रोशमा आएका थिए ।

ट्रम्पले भने केही राज्यहरुको अवस्था अति राम्रो हुँदै गएको र मे १ भन्दा पहिले नै खुला हुने सम्भावना रहेको बताउँदै आएका थिए । बिहीबारको ब्रिफिङ्गमा उनी त्यो भन्दा पनि अघि बढेर केही राज्यको लकडाउन भोलि नै अन्त्य गर्न मिल्ने अवस्था रहेको बताए ।

यस्तै ट्रम्पले लकडाउनको विरोधमा प्रदर्शन गरेकाहरुप्रति सहानुभुति पनि प्रकट गरेका छन् । मिसिगन, नर्थ क्यारोलिना तथा केन्टुकेीमा ट्रम्पका समर्थकहरुले लकडाउनको विरोधमा प्रदर्शन गरेका थिए । घर बस्दा पनि धेरै समस्या रहेकाले उनीहरु प्रदर्शनमा उत्रेको ट्रम्पको भनाई थियो । ट्रम्प प्रशासनले लकडाउन खोल्नका लागि तीन चरणको योजना सार्वजनिक गरेको छ । पहिलो चरणमा भौतिक दूरी कायम गर्ने, १० जना भन्दा बढीको समूह नबनाउने, अनावश्यक यात्रा नगर्ने रहेको छ ।

यस्तै दोस्रो चरणमा जोखिम रहेका व्यक्तिहरु पहिलो चरणमा जस्तै सेल्टरमै रहने, सार्वजनिक स्थानमा जाँदा भौतिक दूरी कायम गर्ने तथा ५० जना भन्दा बढीको भिड नगर्ने नियम रहेको छ । नयाँ सामान्य भनिएको तेस्रो चरणमा जोखिमयुक्त व्यक्तिहरु पनि सामाजिक गतिविधिमा सामेल हुन पाउने तर उनीहरुले भौतिक दूरी भने अपनाउनु पर्ने उल्लेख छ ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या लगातार बढी रहेको भए पनि ट्रम्पले लकडाउन अन्त्य गर्ने योजना सार्वजनिक गरेका हुन्।  अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ३२ हजार ८ सय ६८ जनाको ज्यान गएको छ । यस्तै ६ लाख ६७ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।