तातोपानीबाट औषधि ल्याउन स्थानीयवासीले अवरोध नगर्ने

विहीबार, ०४ बैशाख २०७७, ११ : २६
तातोपानीबाट औषधि ल्याउन स्थानीयवासीले अवरोध नगर्ने

– देवराज सुवेदी 
मेलम्ची । तातोपानी नाकाबाट कोरोना भाइरस नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयवासीले पनि सहजीकरण गर्ने भएका छन् । चीनसँग जोडिएको तातोपानी नाका खुलाउँदा कोभिड–१९ को सङ्क्रमण फैलनसक्ने भएकाले स्थानीयवासीले आफूहरु त्रसित भएको बताउँदै तातोपानीस्थित सुक्खा बन्दरगाहमा भेला भएर सरकारी निर्णयको विरोध गरेपनि अहिले समझदारीमा आएका छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढाकाल, स्थानीय जनप्रतिनिधि र भन्सार प्रमुखबीचको छलफलमा सङ्क्रमण फैलन नदिन उच्च सावधानी अपनाएर औषधि आयातलाई सहज बनाउने सहमति भएको छ । उक्त सहमतिपछि अब नाकाबाट औषधि आयातमा स्थानीयवासीले अवरोध जनाउने छैनन् । भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठका अनुसार प्रजिअ ढकाल र गाउँपालिका अध्यक्ष राजकुमार पौडलले बीच टेलिफोनमा भएको कुराकानीका आधारमा तत्काल औषधि ल्याउन स्थानीयवासीले सहजीकरण गर्ने समझदारी भएको हो ।

“खाद्यान्न ल्याउनुपर्ने अवस्थामा पुनः छलफल गर्ने सहमति भएको छ”, वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । सिन्धुपाल्चोक र तिब्बतको नेलाम जिल्लाका सुरक्षा अधिकारीबीच तातोपानीको मितेरी पुलमा मङ्गलबार भएको बैठकले नाका सञ्चालन गरेर औषधि र खाद्यान्न सामग्री भित्र्याउने निर्णय गरेको थियो ।
 
बाह्रबिसे नगरपालिकामा सहुलियत पसल
 
नगरवासीलाई सस्तो र सुलभ मूल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले लकडाउन अवधिभर बाह्रबिसे नगरपालिकाले सुपथ मूल्यको पसल सञ्चालन गर्ने भएको छ । जिल्लाका १२ स्थानीय सरकारमध्ये लकडाउनलाई मध्यनजर गर्दै बाह्रबिसे नगरपालिकाले पहिलोपटक यस्तो पसल सञ्चालन गर्न लागेको हो ।

लकडाउन लम्बिँदै गर्दा बजारमा दैनिक उपभोग्यका सामग्रीहरुको अभाव हुन थालेको र व्यापारीले कालोबजारी गर्ने आशङ्का नगरवासीले गरेपछि सबैको आग्रहमा सुपथ मूल्यको पसल सञ्चालन गर्न लागेको हो । नगरपालिकाको आयोजनामा भएको सर्वपक्षीय बैठकमा लकडाउनको समयमा दैनिक उपभोग्य सामग्रीको मूल्यसूची सबै पसलमा टास्ने र एकप्रति नगरपालिकामा उपलब्ध गराउने निर्णय भएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिनुभयो ।
 
मेलम्ची खानेपानीमा यातायातमा रोक

हेलम्बु गाउँपालिका–४ ले मेलम्ची खानेपानीसहितको यातायातमा रोक लगाएको छ । अत्यावश्यकबाहेकको यातायात सञ्चालनमा रोक र अनावश्यक हिँडडुल गर्न नदिने भएको हो । कोरोना सङ्क्रमण बढेको र खानेपानीको गाडी धेरै चल्न थालेकाले बन्द गर्ने निर्णय गरिएको हेलम्बु–४ का वडाध्यक्ष राजकुमार लामिछानेले जानकारी दिनुभयो ।
 
हेलम्बु प्रवेशद्वार तालामराङबाट हेलम्बु प्रवेशमा हिँडडुुलमा, अत्यावश्यक सवारीसाधन प्रहरी, सञ्चार, एम्बुलेन्स, तरकारीका र पासबाहेकका सम्पूर्ण यातायातमा रोक लगाइएको छ । बिहान ६ बजे बाट ९ र बेलुका ४ बजेदेखि ७ बजेसम्म खाद्यान्न र तरकारी पसल मात्र खुल्न अनुमति दिने वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।
अहिले खानेपानीको अत्यावश्यक गाडी चलाउने विषयमा गाउँपालिकामा वार्ता जारी छ ।(रासस)