कोरोना कहर

आमा बितेपनि आउन पाएनन, क्‍वारेन्टाइनमै किरिया

विहीबार, ०४ बैशाख २०७७, ०६ : ५९
आमा बितेपनि आउन पाएनन, क्‍वारेन्टाइनमै किरिया

file Photo

दार्चुला । हिउँदमा मजदुरीका लागि भारत छिरेका शैल्यशिखर नगरपालिका(१ का वासुदेव भट्ट कोरोना भाइरसको त्रास बढेपछि घर फर्कन १५ दिनअगाडि सीमावर्ती क्षेत्र धार्चुला आए।

उनी सीमामा आएको पाँच दिन अघिदेखि नै नेपाल प्रवेश नाका बन्द भइसकेको थियो। त्यसपछि उनी बलुवाकोटको महाविद्यालय क्वारेन्टाइनमा बसे। स्वदेशको साँधमै अड्किएका उनले घरमा फोन गरी पिर नमान्नु भन्दै जानकारी गराएका थिए।

घर फर्कने आशामा बसेका उनले मंगलबार पनि घरमा सम्पर्क गरे। तर, अचानक आमा बितेको खबर पाएपछि उनी बेहोसझैं बने। उनी रोइकराइ गर्छन्। सामान्य अवस्थामा आउन सकेका छैनन्, बलुवाकोटबाट वासुदेवसँगै रहेका दिलेन्द्र महताले भने। मंगलबारदेखि नै उनले आमाको अन्तिम संस्कारमा जान हारगुहार गरेका थिए। तर, नेपाल प्रवेश गर्न सहज नहुँदा प्रवासको शिविरमै उनी सेतो कपडामा किरियामा बसेका छन्। आमाको दाहसंस्कारमा त उपस्थित हुन पाएनन् नै नेपाल प्रवेशको अनुमति नपाएपछि क्वारेन्टाइनमै किरिया बसेका छन्।

‘भारतीय पक्षले नेपालबाट अनुमति दिए जतिबेला पनि छोड्ने बताएको छ। नेपालबाट समस्या खडा गरेको छ,’ दिलेन्द्रले भने, ‘हाम्रो प्रशासनले हिजोदेखि प्रयास गरिरहेका छौं, माथिबाट कुनै आदेश नआएको भन्दै रोकिदिएको छ।’ भट्टलाई घर पुग्ने वातावरण मिलाउन माथिल्लो निकाय र भारतको धार्चुला तहसिल कार्यालयलाई पत्रमार्फत जानकारी गराइसकेको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुँवरले बताए। ुबुधबार दिउँसो धार्चुलाको एसडीएम कार्यालयसँग फोनबाट पनि कुरा भएको छ। एसडीएमले पनि आफूभन्दा माथिल्लो पिथौरागढ जिल्लाको जिल्लाधिकारीलाई खबर पठाएको जानकारी पाएको छु, उनले भने।

दिलेन्द्रका अनुसार वासुदेवले महाकालीमा पौडेर जाने बताए पनि भारतीय पक्षले रोकेको छ। ुआमा बितेको खबर पाएदेखि नै पहुँच भएका सबैलाई फोनमार्फत हारगुहार गरिरहेका थिए,ु उनले भने, ुस्थानीयस्तरमा यसको समाधान नहुने छाँट देखेपछि क्वारेन्टाइनमै कोरामा बसेका छन्।ु किरिया बस्न बलुवाकोटका व्यापारीमार्फत सेतो कपडा झिकाइएको थियो।

उनलाई घर ल्याउन वडा कार्यालयबाट आवश्यक पहलका लागि जिल्ला प्रशासनलाई लिखित रुपमै अनुरोध गरिएको शैल्यशिखर नगरपालिकाका-१ का अध्यक्ष भरतबहादुर खडायतले बताए।कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस