गएरातिको असिनापानीले पर्वत र बागलुङमा तरकारीखेतीमा करोडौंको क्षति

मंगलबार, ०२ बैशाख २०७७, १२ : ०९
गएरातिको असिनापानीले पर्वत र बागलुङमा तरकारीखेतीमा करोडौंको क्षति

साङ्केतिक फोटो

बागलुङ । पर्वत र बागलुङ जिल्लामा सोमबार राति परेको असिनापानीले फलफूल र तरकारीखेतीमा करोडौँको क्षति पुगेको छ ।

पर्वतको जलजला र मोदी गाउँपालिका तथा बागलुङको ताराखोला गाउँपालिकामा भीषण असिनापानी परेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । 

असिनाले खेतबारीमा लगाएका मकै, भित्र्याउन तयार भएको गहुँबाली, फलफूल र तरकारीमा ठूलो क्षति पुर्याएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए ।

उनका अनुसार, यतिबेला फल लाग्न थालेको सुन्तलामा ठूलो नोक्सानी पुगेको छ । सुन्तलाको पकेट क्षेत्रको रूपमा रहेको पर्वतको देउपुरमा असिनाले धेरै क्षति पुर्याएको उनले बताए ।

पर्वतको जलजला र बागलुङको ताराखोला आलुखेतीको पकेट क्षेत्र हो । ती दुवै पालिकामा बर्खे आलुमा क्षति पुगेको छ । यस क्षेत्रका कृषकले खेतमा लगाएको मकै गोडिसकेका थिए भने बारीमा लगाएको मकै उम्रिएका थिए । खेतबारीकै मकैमा असिनाले असर पुर्याएको छ । त्यस्तै बर्खे तरकारीमा पनि नराम्रो गरी असिनाले हानेको कृषकले गुनासो गरेका छन् ।

आधा घण्टाभन्दा बढी परेको असिनाका कारण मकै, फलफूल तरकारी पूरै नष्ट भएको मोदी गाउँपालिका–८, चित्रेकी सुशीलादेवी गुरुङले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस