फूल हेर्दै चित्त बुझाउँदै किसान

सोमबार, ०१ बैशाख २०७७, १४ : ५१
फूल हेर्दै चित्त बुझाउँदै किसान

चितवन । लकडाउनसँगै बजार नपाएपछि यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन् । लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौँ हो । त्यहाँ फूल जान छाडेपछि बारीमा नै सुकेर नष्ट हुन थालेको छ ।  

कतिपयले त फूल बिक्री गर्न नपाएपछि काटेर फाल्नसमेत शुरु गरेको पश्चिम चितवनमा फूल व्यवसाय गर्दै आउनुभएका बद्री रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लकडाउनले बजार खुल्न पाएको छैन । फूल बजारमा जान नपाएपछि काटेर फाल्न शुरु गरेका छौँ ।” उहाँले एक बिघा १० कट्ठामा फूल खेती गर्दै आउनुभएको छ । ग्याडुलस जातको फूल लगाउनुभएका राना अहिलेसम्म रु एक लाखभन्दा बढीको फूल काटेर फालेको बताउनुहुन्छ ।

फ्लोरीकल्चर एशोसिएशन नेपाल चितवनका अध्यक्ष प्रकाश पन्त अहिले फूल खेती गर्ने किसान चिन्तित बन्न थालेको बताउनुहुन्छ । उहाँका अनुसार व्यावसायिकरूपमा गरिएको फूल खेती ग्याडुलस र गोदावरी बारीमा नै सुक्न थालेका छन् । पन्तले जिल्लामा छ बिघाभन्दा बढीमा लगाइएको ग्याडुलस र गोदावरी फूल नष्ट भएको जानकारी दिनुभयो । एक बिघाको फूल बिक्री गर्दा रु १५ लाख हाराहारी आम्दानी हुने भए पनि ती सबै नष्ट हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । अधिकांशले जग्गा भाडामा लिएर महँगोमा खरिद गरेको बीउ र गोडमेलमा धेरै खेताला लगाउने हुँदा व्यवसायी मारमा परेको उहाँको भनाइ छ ।

पन्तको दुई बिघामा ग्याडुलस र आठ कट्ठामा गोदावरी फूल रहेको छ । उहाँले भन्नुभयो, “अब ऋण कसरी तिर्ने त्यही चिन्तामा हामी छौँ ।” बैंकबाट ऋण लिएर व्यवसाय गरेका किसानलाई बैंकको ब्याज तिर्नसमेत समस्या परेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “बीउ महँगो छ । उत्पादन भएको वस्तु बिक्री गर्न पाइएको छैन । चिन्ता थपिएको छ ।” उहाँले राज्यले फूल व्यवसाय गर्ने किसानलाई सहयोग गर्नुपर्ने बताउनुभयो । (रासस)