ट्वीटरमा भाइरल बन्दै नेपाल टेलिभिजनको 'गेट वेल सुन कमरेड'

शनिबार, २९ चैत्र २०७६, १३ : ४७
ट्वीटरमा भाइरल बन्दै नेपाल टेलिभिजनको 'गेट वेल सुन कमरेड'

चितवन । प्रभावकारी सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार एउटा ट्वीट गरे । ट्वीटमा थापाले प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईको बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा उपचार भएको जानकारीसँगै शीघ्र स्वास्थ्यलाभको शुभकामना दिएका छन् । 

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि ट्वीट गर्दै डा. भट्टराईको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । यी दुबै ट्वीटमा नेपाल टेलिभिजनको आधिकारिक भनिएको ट्वीटर ह्याण्डलबाट कमेण्ट गर्दै भनिएको छ, 'गेट वेल सुन कमरेड ।' 

सरकारी स्वामित्वको टेलिभिजनले ट्वीटरमा दिएको 'गेट वेल सुन कमरेड' भन्ने कमेण्टसहितको स्क्रिन सट अहिले त्यही ट्वीटरमा भाइरल बनिरहेको छ । ट्वीटरमा मात्र नभई यतिबेला नेपाल टेलिभिजनको 'गेट वेल सुन कमरेड' फेसबुक ग्रुप र म्यासेञ्जरमा पनि फरवार्ड भइरहेका छन् ।

नेपाल टेलिभिजनकै कर्मचारीले व्यक्तिगत रुपमा यसरी गेट वेल सुन कमरेड भनी कमेण्ट गरेको भए शायद कसैले केही भन्दैन थियो होला, तर आधिकारिक भनिएको ट्वीटर ह्याण्डलबाट नेपाल टेलिभिजनले गेट वेल सुन कमरेड भनेपछि यो विषयमा चर्को आलोचना र टिकाटिप्पणी भइरहेको छ ।

नेपाल टेलिभिजनको कमेण्टसहितको स्क्रिन सट भाइरल भएपछि अहिले त्यसलाई ट्वीटरबाट हटाइएको छ । ट्वीटरबाट नेपाल टेलिभिजनको 'गेट वेल सुन कमरेड' भन्ने कमेण्ट हटाइए पनि त्यसको स्क्रिन सट भाइरल हुन पुगेको हो ।

यसैबीच, नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र बिष्टले 'एक जना मित्रकाे असावधानीले एनटीभीकाे आधिकारिक ट्वीटर एकाउण्टबाट असान्दर्भिक कमेण्ट पर्न गएकाे र त्यसलाइ हटाइसकिएकाे' भन्दै माफी मागेका छन् ।

प्रतिक्रिया दिनुहोस