यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समस्यामा : राहत नपाएको गुनासो

शनिबार, २९ चैत्र २०७६, १२ : ३८
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समस्यामा : राहत नपाएको गुनासो

चिप्लेढुङ्गा । कोभिड–१९को सम्भावित जोखिम हुन नदिन सरकारले बन्दाबन्दी(लकडाउन) जारी राखेपछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समलिङ्गी तथा तेस्रो लिङ्गीले राहत नपाएको गुनासो गरेका छन् । 

नागरिकता एवं अन्य पहिचान खुल्ने कागजपत्र नभएका कारण उनीहरुले राहत पाउन नसकेको बताइएको छ । सो क्षेत्रमा काम गर्दै आएको संस्था नौलो बिहानी पोखराका अध्यक्ष बिन्दीया गौतमले कोरोना सङ्क्रमणको जोखिमका कारण रोजगारी गुमाइरहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई अहिले बिहान बेलुकाको छाक टार्न गाह्रो भएको जानकारी दिनुभयोे । उहाँले कास्कीमा मात्र दुई हजार ८०० जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक रहेको तथ्याङ्क आफूहरुसँग भएको र पहिचान खुलाएका भने जम्मा ५० जना मात्र रहेको बताउनुभयो ।

विभिन्न वडामा रहेका उनीहरुको पहिचान खुल्ने नागरिकता र अन्य कागजात नहुँदा राहत पाउनबाट वञ्चित हुनुपरेको उहाँको भनाइ थियो । गौतमले आफ्नो सम्पर्कमा आएका १० जनालाई राहत अत्यावश्यक भएको बताउनुभयो । “अहिले  केही साथीहरु मिलेर पैसा जम्मा गरी १० जनालाई राहत बाँड्यौँ, उनीहरुलाई स्थानीय तहबाट राहत प्रदान गरियोस् भन्ने हाम्रो माग हो ।”

पोखरा महानगरपालिका वडा नं। ११ शीतलादेवी बस्दै आउनुभएकी तेस्रोलिङ्गी अप्सना श्रेष्ठले काम गर्ने होटल बन्द हुँदा अहिले बिहान बेलुकाको छाक टार्न नपाएको बताउनुभयो । “हामीले काम गर्ने होटल बन्द छ, पैसा पनि छैन, सरकारले राहत बाँडेको छ भनेको सुनेका छौँ, तर कसरी पाइन्छ थाहा छैन ।” उहाँले आफ्नो समस्या नौलो बिहानीका अध्यक्षलाई सुनाएपछि शुक्रबार केही व्यक्तिगत रुपमा उहाँबाट आफूलगायतका केही साथीले राहत पाएको बताउनुभयो । 

सरकारले नागरिकताका लागि  लिङ्ग बदलेको चिकित्सकको प्रमाण खोज्न्न थालेपछि राज्यको सेवा सुविधा लिनबाट यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिक वञ्चित हुने अवस्था आएको गौतमको भनाइ छ । “सबैको विदेशमा गएर लिङ्ग परिवर्तन गर्ने  हैसियत छैन । राज्यको नीतिले एउटै देशका नागरिकप्रति पनि विभेद भएको छ ।” उहाँले अहिले पास लिएर अत्यावश्यक काममा हिँड्नसमेत तेस्रोलिङ्गीले नपाएको गुनासो गर्नुभयो । 

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले भने राहतका लागि नागरिकता आवश्यक नहुने तर सम्बन्धित घरधनी वा वडाले सिफारिस गरेको हुनुपर्ने बताउनुभयो । “नागरिकता नै चाहिँदैन तर सम्बन्धित घरधनीले कामको विवरणसहित सिफारिस गरे राहत लिनबाट तेस्रोलिङ्गी वञ्चित हुँदैनन् ।” 

महानगरद्वारा अस्पताललाई  पिपिई प्रदान 

पोखरा महानगरपालिकाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री ९पिपिई० सहयोग गरेको छ । 

     महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापालाई आज १०० थान  ९पिपिई० हस्तान्तरण गर्नुभयो । प्रमुख जिसीले गण्डकी प्रदेशकै नेतृत्वदायी अस्पतालका रुपमा रहेकाले सुरक्षित बनाउन महानगरले सहयोग  गरेको जानकारी दिनुभयो ।  उहाँले अस्पताल सुरक्षित नभएसम्म बिरामी सुरक्षित नहुने भन्दै चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा पहिलो प्राथमिकता भएको बताउनुभयो । 
महानगरप्रमुख जिसीले भन्नुभयो, “ महामारीलाई जित्नेतर्फ लागौँ अरु कुरा पछि गर्दै गरौँला ।” 
प्रतिष्ठानका उपकुलपति डा बृद्धिबहादुर थापाले महानगरले प्रदान गरेको स्वास्थ्य सामग्रीले कोरोना सङ्क्रमणको उपचारमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्यकर्मी अहिलेको महामारीका अग्रपङ्क्तिका सिपाही भएकाले उनीहरुको मनोबल उच्च बनाउने गरी सबैले सहयोग गर्नुपर्नेमा थापाले जोड दिनुभयो । यसअघि महानगरले उक्त अस्पताललाई दुई वटा स्प्रे मेसिन प्रदान गरेको थियो ।

सञ्चारकर्मीलाई मास्क, पन्जा र स्यानिटाइजर

दमौली – तनहुँको व्यास नगरपालिकाले सदरमुकाम दमौलीमा रहेर पत्रकारिता गर्ने सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।  कोभिड–१९ को जोखिम हुन नदिन सचेतना जगाउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने भएकाले नगरपालिकाले सञ्चारकर्मीलाई मास्क, पन्जा र स्यानिटाइजर वितरण गरेको हो ।

    उक्त सामग्री आज व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्यलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा नगरप्रमुख न्यौपानेले कोभिड–१९ को जोखिम कम गर्न व्यास नगरपालिकाको अभियानमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहँदै आएको जानकारी दिनुभयो  । “समाचार सङ्कलनका क्रममा सञ्चारकर्मी पनि जोखिममा रहेकाले पत्रकारको जीवन रक्षा गर्ने दायित्व स्थानीय सरकारको पनि हो”, उहाँ भन्नुभयो, “त्यसैलाई मनन गर्दै नगरपालिकाको तर्फबाट केही सहयोग गरेका हौँ ।”

    महासङ्घ तनहँु शाखाका अध्यक्ष ओमकार आचार्यले सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री प्रदान गरेकामा नगरपालिकाप्रति आभार व्यक्त गर्नुभयो । नगरपालिकाले ३० थान एन ९५ मास्क, ३० थान स्यानिटाइजर र १५० थान पञ्जा सहयोग गरेको छ । 

भारतबाट उपचारपश्चात् फर्किएका क्वारेन्टाइनमा

    भारतमा उपचारपश्चात् फर्किएका व्यास नगरपालिका–३ सफासडकका तीनजनालाई होम क्वारेन्टाइनमा राखिएको छ । क्यान्सर रोगबाट पीडित भई ६ महिनादेखि भारतको इन्दिरा गान्धी क्यान्सर अस्पतालमा उपचारपश्चात् घर फर्कनुभएका परशुराम श्रेष्ठ, उहाँका श्रीमती पम्फा श्रेष्ठ र छोरा पविन्द्रकुमार श्रेष्ठलाई होम क्वारेन्टाइनमा राखिएको हो ।

    शुक्रबार साँझ दमौली आइपुग्नुभएका तीनैजनालाई उहाँहरुको घरको एउटा फ्ल्याटमा सुरक्षित रुपमा राखिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय तनहँुको समन्वयमा उहाँहरुलाई नेपाल–भारतको सीमाबाट नेपाल प्रवेश गर्ने व्यवस्था मिलाइएको थियो । 

    “भारतबाट फर्किएको हुनाले प्रमुख जिल्ला अधिकारीलगायत चिकित्सकको परामर्शमा उहाँहरुलाई घरमै सुरक्षित रुपमा राखिएको छ”, नगरप्रमुख न्यौपानेले भन्नुभयो । (रासस)